काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी २१ फागुनमा गरिने प्रतिनिधिसभा निर्वाचनको मितिमा दायाँबायाँ नहुने गरी सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले यस्तो सुझाव दिएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
उनले सो चुनावलाई प्रभावित नहुने गरी काम गर्न पनि सरकारलाई सुझाव दिए । राष्ट्रपति पौडेलले अघिपछिभन्दा अत्यन्त तदारुकताका साथ सुरक्षा व्यवस्थामा ध्यान दिन नेपाली सेनासहितका सुरक्षा निकायलाई निर्देशन दिए ।
सो अवसरमा राष्ट्रपति पौडेलसमक्ष प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक प्रतिवेदन पेस गरेकी थिइन् ।
राष्ट्रपति पौडेलले वर्तमान अवस्थामा थपिएका तथा भविष्यमा आइपर्ने सुरक्षा चुनौतीहरूसमेत आकलन गरी राष्ट्रिय सुरक्षा परिषद्ले आगामी दिनमा आफ्नो जिम्मेवारी अझ प्रभावकारी रूपमा निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
FACEBOOK COMMENTS