काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेकी भियतनामका उपराष्ट्रपति वो थि आन्ह सुआनले शिष्टाचार भेट गरेकी छन् ।
सोमबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले नेपाल र भियतनामबीच व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरणका क्षेत्रमा द्विपक्षीय आर्थिक सम्बन्ध प्रगाढ बनाउने धेरै सम्भावना रहेको बताए ।
नेपाल अहिले कृषि, पर्यटन, उत्पादन तथा जलविद्युत जस्ता क्षेत्रहरूमा लगानीमार्फत आर्थिक सामाजिक रूपान्तरणमा केन्द्रित रहेको राष्ट्रपति पौडेलले बताएको राष्ट्रपति कार्यालयले जनाएको छ।त्यस्तै उनले भियतनामले आफ्नो अर्थतन्त्रलाई विश्वकै गतिशील अर्थतन्त्रको रूपमा विकास गर्न सक्षम भएकोमा खुसी व्यक्त गरेका थिए ।
सो अवसरमा भियतनामका उपराष्ट्रपति सुआनले संस्कृति, खेलकुद र पर्यटनका क्षेत्रमा दुवै देश बिच सहकार्य गर्न आवश्यक रहेको बताइन् । उनले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालले शान्ति कायम गर्न देखाएको अग्रसरता र जलवायु परिवर्तनको असरका सम्बन्धमा गरेको प्रतिबद्धताबाट आफू प्रभावित भएको समेत बताएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS