काठमाडौं । नेकपा एमाले समर्थित पत्रकारहरूको सङ्गठन प्रेस चौतारी नेपालको १०औं राष्ट्रिय महाधिवेशन आइतबारदेखि विराटनगरमा सुरू हुँदैछ ।
महाधिवेशन सुरू हुन दुई दिन बाँकी हुँदा भावी नेतृत्वका लागि उम्मेदवारी घोषणाको लहर चलेको छ । अहिलेसम्म भावी नेतृत्वका लागि उपाध्यक्षद्वय राजेश राई र गणेश पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् भने संगठनका महासचिव हिरामान लामाले समेत उम्मेदवारी घोषणाको तयारी गरिरहेका छन् ।
उपाध्यक्ष राईले फेसबुकमार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । सर्वसहमति वा निर्वाचन प्रतिस्पर्धा गर्न आफू योग्य र सक्षम रहेको भन्दै उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । ‘अहिलेसम्म पार्टी नेतृत्व/संगठनबाट हामी दाबेदारहरूलाई राखेर औपचारिक निर्देशन भएको छैन । यसको मतलब हामीलाई जनवादको अभ्यास गर्ने अवसर दिनु हुनेछ । हाम्रो मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादले भन्छ– प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर,’ राईले सामाजिक सञ्जालमा लेखेका छन् ।
यस्तै, संगठनका अर्का उपाध्यक्ष गणेश पाण्डेले महिनौँ अघिदेखि आफू अध्यक्षको दावेदार रहेको बताउँदै आएका छन् । गत फागुन १८ गते बसेको नेकपा एमाले सचिवालय बैठकले अध्यक्ष पदका आकांक्षी समेत रहेका गणेश पाण्डेलाई प्रचार विभागको सचिव पदमा नियुक्त गरेको थियो । उनको त्यो नियुक्तिसँगै चौतारीमा अध्यक्ष बन्ने मैदान फराकिलो भएको चर्चा भएको थियो । तर, पाण्डेले आफू प्रचार विभागको सचिव बने पनि चौतारीको अध्यक्ष बन्ने मैदानबाट नबाहिरिएको स्पष्ट पारेका थिए ।
प्रमुख पदमा दोहोरोपना हुन नहुने पार्टीको नीतिबारे जानकार रहँदारहँदै पनि नियुक्तिको सपथ लिएका पाण्डेले अन्ततः आज राजीनामा दिएका छन् । विभागको सचिवबाट राजीनामा दिएर चौतारीको अध्यक्ष बन्न पाण्डे पूर्णरूपमा मैदानमा उत्रिएपछि अब राजेश राई र गणेश पाण्डे आमनेसामने भएका छन् ।
यस्तो छ, राजेश राईको घोषणा–
किन आयो पाण्डेको राजीनामा ?
सरसरती हेर्दा चौतारीको अध्यक्ष बन्नकै लागि पाण्डेले चौतारीको नेतृत्व भन्दा पनि माथिको सचिव पद त्यागेको स्पष्ट छ । उनले आफ्नो राजीनामा पत्रमा पनि सोही कुरा स्पष्ट उल्लेख गरेका छन् । ‘म प्रेस चौतारी नेपालको झन्डै १० वर्षदेखि केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा रहेको र प्रेस चौतारी नेपालको आगामी १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको दाबेदार रहेका कारण दोहोरो जिम्मेवारीमा नरहने मनसायका साथ मैले विभागको सचिव पदबाट राजीनामा दिने निर्णय गरेको छु ।’
यसका अलावा उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको दह्रो साथ पाएको आँकलन गरिएको छ । उनलाई विभागको सचिव नियुक्त गर्दा पनि ओलीसमक्ष गलत रिपोर्ट पुगेको विषयहरू बाहिर आएका छन् । पाण्डेलाई उनको इच्छाविपरीत सचिव नियुक्त गर्न आफूलाई प्रभावित पारेको भन्दै अध्यक्ष ओली केही नेतासँग रिसाएको प्रसङ्गहरू समेत बाहिर आएका छन् ।
तर, पाण्डे सचिव भइसकेपछि पनि उनैलाई चौतारीको अध्यक्ष बनाउनुपर्ने ओलीको अडानका कारण उनले आज सचिव पदबाट राजीनामा दिएको बताइएको छ । तर, अर्का प्रत्याशी राजेश राईले पनि आफूलाई निकै बलियो रूपमा प्रस्तुत गरेका छन् । जननेता मदन भण्डारीले व्याख्या गरेको प्रतिस्पर्धा र पहलकदमीका आधारमा श्रेष्ठता हासिल गर्ने कुरालाई स्मरण गराउँदै उनले प्रेस चौतारीलाई त्यही आलोकमा अघि बढाउनुपर्ने धारणा अघि सारेका छन् ।
बलियो प्रतिस्पर्धीका रूपमा अगाडि आएका राई र पाण्डे अघिल्लोे राष्ट्रिय सम्मेलनमा पनि अध्यक्ष पदका आकांक्षी थिए । वर्तमान अध्यक्ष गणेश बस्नेत नै नेतृत्वमा दोहोरिएपछि दुवै जना उपाध्यक्ष बनेका थिए ।
२०५५ सालमा स्थापना भएको प्रेस चौतारी नेपालमा सात हजार भन्दा बढी पत्रकारहरु सङ्गठित छन् ।
यस्तो छ, पाण्डेको राजनीनामा–
पाण्डेको राजीनामाले खोस्यो अर्को गणेशको खुसी !
गणेश पाण्डेलाई सचिवको नियुक्ति दिलाएर चौतारीमा राजेशलाई सर्वसम्मत गरी आफ्नो सुनौलो बर्हिगमनको बाटो रोजेका चौतारी अध्यक्ष गणेश बस्नेतको खुसी पनि धेरै टिकेन । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष खोई के–के ब्रिफिङ गरेर दिलाइएको नियुक्तिलाई उपाध्यक्ष पाण्डेले ६ दिनमै फिर्ता गरेपछि अध्यक्ष बस्नेतको पनि खुसी खोसिएको हो ।
किनकी पाण्डेले सचिव पदको सपथ ग्रहण गरेपछि यस्तै आशयको स्टाटस अध्यक्ष बस्नेतले लेखेका थिए । सो स्टाटसमा उनले गणेश पाण्डे प्रचार विभागको सचिव बन्दा सबैभन्दा धेरै खुसी आफू भएको चर्चा गरेका थिए ।
यस्तो थियो, अध्यक्ष गणेश बस्नेतको धारणा–
FACEBOOK COMMENTS