काठमाडौं । नेकपा एमालेनिटक अनेरास्ववियुसहितका चार वटा विद्यार्थी सङ्गठनले मूल्य वृद्धिविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
अनेरास्ववियुसहित अखिल (पाँचौं), वैज्ञानि समाजवादी विद्यार्थी सङ्गठन, राष्ट्रिय विद्यार्थी संघ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, अखिल क्रान्तिकारी र राष्ट्रवादी विद्यार्थी संगठनले पछिल्लो समय सरकारले गरेको मूल्यवृद्धि फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
६ वटै विद्यार्थी संगठनका नेताहरू क्रमशः सुनिता बराल, पवित्रा आचार्य, राजेश्वरी सुवेदी, रत्तिजत निस्पक्ष, धनसुर शाही, सुन्दर रायमाझी र अनुप लामिछानेले संयुक्त विज्ञप्ति जारी गर्दै मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेका हुन् ।
‘आज फेरि परमादेशी सरकारको निर्देशनमा नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टि–तेलमा ३ रुपैयाँ र हवाई ईन्धनमा ५ रुपैयाँ मूल्य वृद्धि गरी जनताको आधारभूत आवश्यकताको बेवास्ता गर्दै कोरोना महामारीले जनता आक्रान्त भएको अवस्थामा, जनतालाई राहत दिनु त कहाँ हो कहाँ, सरकार कोभिड खोप लुकाउनमा व्यस्त छ, गरिब जनताको चुल्हो निभ्ने गरी मुल्य बढाउने जनतामारा कदमले हामीलाई आक्रोशित बनाएको छ,’ विद्यार्थी संगठनहरूद्वारा जाररी विज्ञप्तिमा लेखिएको छ, ‘मूल्य समायोजन गर्ने बाहनामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घटदा नघटाई आयल निगमले चुहावट नियन्त्रणमा पटक्कै ध्यान नदिने, घाटा हुँदा पनि आफ्ना कर्मचारीलाई बोनस र भत्ता वितरण गर्ने र कर्मचारीको मनोमानीलाई लुकाएर निगमलाई निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखि पटक–पटक मुल्य वृद्धि गर्ने कदम प्रति संयुक्त विद्यार्थी संगठन खेद व्यक्त गर्न चाहन्छौं ।’
पेट्रोलियम पदार्थको मूल्य–वृद्धिले तमाम क्षेत्रको महँगी बढ्न गई सेवाग्राही र जनतामा यसको प्रत्यक्ष असर पर्ने भएकाले तत्काल मूल्यवृद्धि फिर्ता लिएर गरिब जनतालाई राहत प्याकेजको व्यवस्था गर्न विद्यार्थी संगठनहरूले जोडदार माग गरेका छन् ।
मूल्यवृद्धि फिर्ता नलिए मूल्यवृद्धिविरुद्ध जस्तोसुकै प्रतिकारमा उत्रन बाध्य हुने चेतावनी उनीहरूको छ । त्यस्तो अवस्थामा हुने सम्पूर्ण क्षतिको जिम्मेवार स्वयम् सरकार हुने उनीहरूको विज्ञप्तिमा उल्लेख छ । साथै उनीहरूले देशैभरिका नेता कार्यकर्ताहरुलाई मुल्यवृद्विविरुद्धको आन्दोलनमा उत्रन आह्वान समेत गरेका छन् ।
FACEBOOK COMMENTS