काठमाडौं । पूर्वाधार निर्माणको सिजन शुरू हुनै लाग्दा फलामजन्य निर्माण सामग्री र सिमेन्टको भाउ बढेको छ । दशैं, तिहार तथा छठजस्ता पर्वपछि नेपालमा पूर्वाधार निर्माणको सिजन भनिँदै आएको छ । यही सिजन शुरू हुनै लाग्दा र अन्तरराष्ट्रिय बजारमा कोइलाको मूल्यमा वृद्धि हुँदा निर्माण सामग्री र सिमेन्टको मूल्यमा वृद्धि देखिएको हो ।
अहिले फलामे छडको मूल्य ६ देखि १० सम्म वृद्धि भएको छ भने सिमेन्टको मूल्यमा २० प्रतिशतले वृद्धि हुने देखिएको छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पूर्वाधार निर्माणको सिजन शुरू हुने बेलामा नै फलामजन्य निर्माण सामग्रीको मूल्य वृद्धिले मारमा पर्ने बताए । सरकारले ल्याएको स्पन्ज आइरन र बिलेट आयातका सम्बन्धमा ल्याएको नीतिले फलामजन्य सामग्रीको मूल्य घट्ने आकलन गरिए पनि यसको मूल्य बढेको उनले बताए ।
‘फलामे छडदेखि अन्य निर्माण सामग्रीको मूल्यमा प्रतिकेजी ४ देखि ५ सम्म कमी आउने अपेक्षा थियो,’ सिंहले भने, ‘प्रतिस्थापन विधेयक आउनुअघि स्पन्ज आइरनबाट बनेको डन्डी खरीद गर्दा प्रतिकेजी ७९ र प्राइम बिलेटबाट बनेको डन्डी प्रतिकेजी ८३ रुपैयाँ मूल्य तिर्नुपर्थ्यो ।’ रोलिङ मिल्सहरूमा प्रतिस्पर्धा हुन नसकेको र उत्पादन नै रोक्न थाल्दा मूल्यमा कार्टेलिङ भएको उनको भनाइ छ । उनका अनुसार अहिले फलामे छड किन्दा प्रतिकेजी १०२ देखि १०६ सम्म तिर्नु परेको छ ।
उनले सिमेन्टको मूल्य पनि बढ्दा निर्माणको सिजन शुरू हुँदादेखि नै पूर्वाधार निर्माण महँगो पर्न जाने बताउँछन् । सिमेन्ट उत्पादनमा तीव्र प्रतिस्पर्धा हुँदा ठूला सिमेन्ट उद्योगले मूल्य घटाउन भने चासो दिएका छैनन् । यता नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रव थापाले सिमेन्टको मूल्यमा पनि वृद्धि भएको बताए । सिमेन्टको मूल्य साविक मूल्यमा २० प्रतिशतले बढेको बताए ।
विश्वबजारमा कोइलाको मूल्यमा उच्च वृद्धि भएको र भारतमा पनि सिमेन्टको मूल्यमा वृद्धि देखिएकाले नेपालमा पनि मूल्य बढेको उनको भनाइ रहेको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS