काठमाडौं । साउन महिनामा महँगी बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
बैंकले साउन महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गर्दै मुद्रास्फीति बढेको उल्लेख गरेको हो ।
बैंकका अनुसार, साउन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १.६८ प्रतिशत रहेको थियो ।
यस्तै, समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.७७ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.५२ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.२८ प्रतिशतले ऋणात्मक रहेको थियो भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १५.६२ प्रतिशत, फलफूलको १५.३९ प्रतिशत, माछा तथा मासुको ८.६५ प्रतिशत, तरकारीको ६.९० प्रतिशत र मरमसलाको ४.८० प्रतिशतले बढेको छ ।

त्यस्तै, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायातको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १३.१७ प्रतिशत, मदिराजन्य पेय पदार्थको ७.२० प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ५.५२ र सुर्तीजन्य पदार्थको ४.९७ प्रतिशतले बढेको छ ।