काठमाडौं । नाम चलेका तीन वटा इन्स्योरेन्स कम्पनीहरू एक–आपसमा गाभिने भएका छन् ।
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र युनियन लाइफ इन्स्योरेन्स कम्पनीले आपसमा गाभिने समझदारी गरेका छन् । यो समझदारी कार्यान्वयनमा आएर तोकिएको समयभित्रै एकीकृत कारोबार शुरू गरिए जीवन बीमा कम्पनीहरूबीचको पहिलो बिग मर्जर हुने छ ।
बीमा कम्पनीहरूको नियामक र अर्धन्यायिक निकाय बीमा समितिले चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुर्याउनुपर्ने बताएपछि यी तीन वटा कम्पनीले बिहीबार मर्जरको सम्झौता गरेका हुन् । यद्यपि, यी तीन वटै कम्पनीका सञ्चालकहरूले बीमा समितिले पुँजी बृद्धि योजना ल्याउनु भन्दा अगाडिदेखि नै मर्जरका लागि आपसी छलफल गरेको दाबी गरेका छन् । मर्जरपछि बन्ने कम्पनीको चुक्ता पुँजी ७ अर्ब रुपैयाँ भन्दान माथि पुग्ने भएको छ ।
चैत मसान्तसम्म प्राइम लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ७७ करोड ९६ लाख १६ हजार रुपैयाँ रहेको छ । यस्तै युनियन लाइफको २ अर्ब १५ करोड र गुँरास लाइफको २ अर्ब ८ करोड ४२ लाख ५० हजार रुपैयाँ रहेको छ ।
समझदारी कार्यान्वयनमा सरोकारवाला सबै पक्षबाट सहयोग पाएमा आगामी असार मसान्तसम्म मर्जर प्रक्रिया पूरा गरी साउनदेखि एकीकृत कारोबार शुरू गर्ने लक्ष्य राखिएको बताइएको छ ।
FACEBOOK COMMENTS