काठमाडौं । युवा उद्यमी प्रबल जंग पाण्डेले प्रधानमन्त्री सुशीला कार्कीलाई धन्यवाद व्यक्त गरेका छन् । देश कठिन परिस्थितिमा रहेका बेला साहसपूर्वक जिम्मेवारी सम्हाल्दै सुशासन स्थापना गर्ने प्रयास गरेको भन्दै उनले प्रधानमन्त्रीको प्रशंसा गरेका हुन्।
पाण्डेले प्रधानमन्त्री कार्कीले जेन्जी आन्दोलनका क्रममा शहीद भएका परिवारलाई सम्मान, क्षतिपूर्ति तथा घाइतेहरूको समयमै उपचारको व्यवस्था गरेको उल्लेख गरेका छन्। साथै सम्पूर्ण राजनीतिक दललाई विश्वासमा लिएर देशभर एकै पटक भयमुक्त र निष्पक्ष निर्वाचन सम्पन्न गराउन सफल भएकोमा उनले प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन्।
उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले चुनौतीपूर्ण परिस्थितिमा पनि देशलाई निकास दिने काम गरेको उल्लेख गर्दै आफू नेपाली नागरिक भएकोमा गर्व लागेको बताएका छन्।
पाण्डेले मन्त्री चयनको जटिलता, विस्थापित राजनीतिक नेतृत्वलाई विश्वासमा लिनुपरेको अवस्था, आन्दोलनका क्रममा जलेका व्यवसायीहरूको मनोबल बढाउन सरकारले खेलेको भूमिकालगायत विषय स्मरण गरेका छन् ।
उनले व्यवसाय पुन:स्थापनाका लागि भन्सार छुट, ऋण पुनर्संरचना र पुनर्तालिकरण जस्ता निर्णयले व्यवसायीहरूलाई राहत पुगेको बताए। त्यसैगरी दशैंको समयमा आएको बाढी–पहिरो व्यवस्थापनमा सरकारले देखाएको सक्रियता पनि उनले स्मरण गरेका छन्।
पाण्डेका अनुसार विषम परिस्थितिमा देशलाई निकास दिँदै संविधानलाई सही दिशामा अघि बढाउन सफल भएकोमा देश प्रधानमन्त्रीप्रति सधैं कृतज्ञ रहनेछ। अन्त्यमा उनले प्रधानमन्त्री कार्कीप्रति सम्मान व्यक्त गर्दै भनेका छन्, “सलाम प्रधानमन्त्रीज्यू।”

FACEBOOK COMMENTS