काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भोलि धनगढी आउने भएका छन् ।
मंसिर–४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा विजयी भएपछि देउवा पहिलो पटक धनगढी आउन लागेका हुन् ।
धनगढीमा प्रधानमन्त्री देउवाले कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्ने सुदूरपश्चिम महोत्सवको १६औँ संस्करण उद्घाटन गर्ने कार्यतालिका रहेको छ । धनगढी–१ स्थित पशुपति टोलमा लाग्ने महोत्सवको देउवाले दिउँसो २ बजे उद्घाटन गर्ने कार्यतालिका रहेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुँवरले बताए ।
कैलाली उद्योग वाणिज्य संघले देउवा सामु १६ बुँदे माग राख्ने तयारी गरेको छ । जसको प्राथमिकतामा धनगढीमा स्तरिय प्रदर्शनी स्थल निर्माण गरिनुपर्ने माग रहने अध्यक्ष कुँवरले बताए ।
त्यसबाहेक सुदूरपश्चिममा औद्योगिक स्थल निर्माण गरिनु पर्ने भारतसँग जोडिएको गौरिफण्टा नाकाको स्तर उन्नति गरिनु पर्ने, धनगढी विमान स्थलको स्तर उन्नति गरिनुपर्ने लगायत माग रहेका छन् ।
१६औँ संस्करणमा सञ्चालन हुने सुदूरपश्चिम महोत्सवमा ४ सय स्टल राखिएका छन् । महोत्सव तयारीमा दुई करोड खर्च लाग्ने अनुमान गरेको उद्योग वाणिज्य संघले महोत्सव अवधिभर ५ देखि ७ करोडको कारोबार हुने अनुमान गरेको छ ।
महोत्सव अवलोकनका लागि विद्यार्थीलाई परिचय पत्रका आधारमा ५० रुपैयाँ निर्धारण गरिएको छ, भने साधार नागरिकलाई एक सय रुपैयाँ टिकट निर्धारण गरिएको छ । तर जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिलाई भने निःशुल्क रूपमा महोत्सव अवलोकन गर्न दिइने अध्यक्ष कुँवरले बताए ।
त्यसै गरी पत्रकार र सञ्चारकर्मीलाई सञ्चार गृहले जारी गरेको परिचय पत्रका आधारमा महोत्सव स्थलमा निःशुल्क रूपमा प्रवेश गर्न दिइने अध्यक्ष कुँवरले बताए । महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ ।
FACEBOOK COMMENTS