काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले ललितपुरमा आयोजित एक समारोहबीच समाज कल्याण परिषद्को डिजिटल सेवा प्रवाह प्रणाली शुभारम्भ गरेकी छन् ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले प्रविधिमैत्री प्रणालीले सेवाग्राहीलाई छिटो, छरितो र पारदर्शी सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरेकी थिइन् ।
प्रधानमन्त्री कार्कीले सामाजिक सेवा विकास सहायताको महत्वपूर्ण आधारस्तम्भ भएको उल्लेख गर्दै समाजका सबै वर्गलाई विकासको मूलधारमा समेट्नु राज्य र नागरिक संस्थाको साझा दायित्व भएको बताइन् । उनले गैरसरकारी संघ–संस्थाले स्वास्थ्य, शिक्षा, सशक्तीकरण, गरिबी निवारण र विपद् व्यवस्थापनलगायत क्षेत्रमा पुर्याएको योगदान प्रशंसनीय रहेको धारणा राखिन् ।
नयाँ प्रणालीमार्फत गैरसरकारी संस्थाको कार्यसम्पादन र विकास सहायतासम्बन्धी एकीकृत तथ्यांक तयार हुने तथा अनुगमन प्रक्रिया थप प्रभावकारी बन्ने विश्वास व्यक्त गरिएको छ । परिषद्लाई नियमन, सहजीकरण र मूल्यांकन कार्यमा थप सक्षम बनाउन आवश्यक पूर्वाधार र स्रोतसाधन उपलब्ध गराउनुपर्नेमा पनि जोड दिइएको छ ।
FACEBOOK COMMENTS