काठमाडौं । गणतन्त्र दिवसमा राष्ट्रपतिले सम्बोधन गर्ने भएका छन्।
अहिलेसम्म प्रधानमन्त्रीले गणतन्त्र दिवसमा सम्बोधन गर्ने कार्यक्रम थियो। यसपालिदेखि भने राष्ट्रपतिले गणतन्त्र दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्ने भएका हुन्।
सरकारले पछिल्लो मन्त्रिपरिषदबाट गणतन्त्र दिवसमा आयोजित समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने निर्णय गरेको थियो। ‘गणतन्त्रको प्रतीक राष्ट्रपति हुनाले गणतन्त्र दिवसको समारोहलाई प्रधानमन्त्रीलेभन्दा राष्ट्रपतिले नै सम्बोधन गर्नु नै उपयुक्त हुन्छ भन्ने मौखिक आग्रह प्रधानमन्त्रीका तर्फबाट पहिलादेखि नै भइरहेको थियो, तर पछिल्लो मन्त्रिपरिषद बैठकबाटै निर्णय गरेर निर्णय र समारोहलाई सम्बोधन गरिदिन आग्रह सहितको प्रधानमन्त्रीको पत्र प्राप्त भएको छ,।
मन्त्रिपरिषद निर्णय र प्रधानमन्त्री साहको अनुरोध पत्र बुझाउन मुख्य सचिव सुमनराज अर्याल आइतबार राष्ट्रपति भवन शीतल निवास पुगेका थिए। गणतन्त्र दिवसमा अबदेखि प्रधानमन्त्री नबोल्नेभन्दा पनि राष्ट्रपति बोल्ने भन्ने रूपमा यो निर्णयलाई लिनुपर्ने राष्ट्रपति कार्यालय स्रोतको भनाइ छ।
नेपाल २०६५ जेठ १५ गते गणतन्त्र घोषणा भएको थियो। त्यसयता वर्षेनी जेठ १५ मा गणतन्त्र दिवसमा टुँडिखेलमा समारोह गर्ने र प्रधानमन्त्रीले सम्बोधन गर्ने गरेका थिए।
२०८२ को गणतन्त्र दिवसमा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरेका थिए। २०८१ को गणतन्त्र दिवसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले सम्बोधन गरेका थिए।
