काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका केही समस्या रहे पनि खतराको सम्भावना भने टरेको दाबी गरेका छन्।
नेपाल निर्माण व्यवसायी महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै आइतबार प्रचण्डले उक्त दावी गरेका हुन्।
‘देशको अर्थतन्त्र सजिलो अवस्थामा छैन। तर स्थिति धेरै आत्तिइहाल्नुपर्ने पनि हैन। गत वर्ष हामीसँग वैदेशिक मुद्रा सञ्चितिमा कम आउँदा कतै देश आर्थिक संकटको भयानक भूमरीमा परिपो हाल्ने हो कि, त्यसले सिङ्गो देशको भविष्य नै संकटमा पार्ने पो हो कि भन्ने जस्तो परिस्थिति थियो,’ प्रचण्डले भने, ‘तर बाह्य क्षेत्र सन्तुलनमा राख्न तत्कालीन अवस्थामा लिएका नीतिहरुले गर्दा त्यस्तो खतराको सम्भावना टरेको छ।’
छिमेकका केही मुलुकहरू वैदेशिक मुद्राको घट्दो सञ्चितीबाट आर्थिक रूपले कठिन अवस्थामा परेको बेला हामीसँग १० महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्ने सञ्चिती रहेको उल्लेख गर्दै अर्थतन्त्र संकटबाट क्रमशः सुधारतर्फ अग्रसर भइरहेको बताए।
उनले भने, ‘मैले मन्त्रिपरिषद्को पहिलो बैठकबाट नै अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न गम्भीर पहल लिने निर्णय गराएको छु । निजी क्षेत्रसँगको सहकार्यमा अर्थतन्त्रमा देखिएका समस्याहरू समाधान गर्दै चुनौतीलाई अवसरमा बदल्न सरकार सङ्कल्पबद्ध छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले दिएको जनादेशका आधारमा राजनीतिक स्थिरता कायम गर्न, देशभित्र देखा परेको निराशाको परिस्थितिलाई चिर्दै आशाको रक्तसञ्चार गर्न मैले आफ्नो सम्पूर्ण शक्ति खर्चिएको छु ।’
अब राजनीतिले आफ्नो लय समातिसकेकाले सरकारको सम्पूर्ण ध्यान सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न युद्धस्तरमा काम गर्न उनको भनाइ छ।
उनले भने, ‘कोभिड महामारी, बाह्य युद्ध र आपूर्ति व्यवस्थामा परेको चाप जस्ता कारण केही निर्माण सामग्रीहरूको मूल्य बढेको छ । यसले निर्माण क्षेत्रको लागतसमेत बढ्न गएको छ । सरकार यी समस्यालाई दीर्घकालीन रूपमा कसरी समाधान गर्न सकिन्छ भन्नेमा गम्भीर भएर लागिरहेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाह्य बजारको मूल्यमा निर्भर रहन्छ । तैपनि उपभोक्ताको हितलाई ध्यानमा राखेर सरकारको तर्फबाट घाटा सहेर भएपनि मूल्य नियन्त्रण गरिएको छ । तर यो सधैभरी धान्न सकिने अवस्था चाहिँ होइन ।’
FACEBOOK COMMENTS