काठमाडौं । प्रधानमन्त्री बालेन शाह राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लगातार दोस्रोपटक पनि अनुपस्थित भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक बहिष्कार गरेको छ ।
गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री बालेनसँग सुकुमवासी बस्ती खाली गराइएको, सुरक्षा प्रशासन लगायतका विषयमा जवाफ माग्नुपर्ने भए पनि उनी बैठकमा सहभागी नभएको भन्दै कांग्रेसले बैठक बहिष्कार गरेको हो ।
सोमबार बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो । उक्त बैठकमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सचेतक निश्कल राई, तथा सांसदहरू अर्जुननरसिंह केसी र रेखाकुमारी यादव अनुपस्थित रहेका हुन् ।
कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले प्रधानमन्त्रीको अनुपस्थितिमा समितिको बैठकको औचित्य नै नरहेको टिप्पणी गरे ।आङ्देम्बेले समिति सभापति हरि ढकाललाई प्रधानमन्त्री उपस्थित हुने भए बैठकको जानकारी दिन भनिएको पनि बताए ।
उनका अनुसार सभापति ढकाललाई प्रधानमन्त्री बालेनलाई समितिमा उपस्थित गराउन पटक–पटक आग्रह गरिएको पनि बताए । ‘प्रधानमन्त्री बिना अहिले समिति बैठक बस्नु औचित्यपूर्ण अर्थ छैन, हामीले उहाँसँग जवाफ माग्नु छ,’ आङ्देम्बेले स्पष्ट पारे ।प्रधानमन्त्रीको अनुपस्थितिका कारण समिति बैठक दोस्रोपटक प्रभावित भएको हो ।
