काठमाडौं। भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले गहिरो दु:ख व्यक्त गर्दै आफ्नो ३०औँ स्थापना दिवस तथा वार्षिकोत्सव समारोह स्थगित गरेको छ।
ईक्यानले २०८३ भदौ १३ गते अर्थात् २९ अगस्ट २०२६ मा होटल एभरेस्ट, काठमाडौंमा आयोजना गर्ने तय गरेको ३०औं स्थापना दिवस तथा वार्षिकोत्सव समारोह अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो।
रसुवा, नुवाकोट, गोरखा, चितवनलगायत विभिन्न जिल्लामा बाढी तथा प्राकृतिक विपद्का कारण ठूलो क्षति भएको र नागरिकहरूको उद्धार, राहत तथा पुन:स्थापनाका लागि तत्काल सहयोग र राष्ट्रिय ऐक्यबद्धताको आवश्यकता रहेको भन्दै ईक्यानले उत्सवभन्दा मानवीय सेवा र राहतलाई प्राथमिकता दिएको जनाएको छ।
ईक्यानले विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहतमा तत्काल योगदान पुर्याउने उद्देश्यले प्रारम्भिक राहत सहयोगसमेत घोषणा गरेको छ। संघको केन्द्रीय कोषबाट १० लाख १ हजार रुपैयाँ तथा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको संयुक्त योगदानबाट ५ लाख रुपैयाँ गरी कुल १५ लाख १ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको ईक्यानले जनाएको छ।
उक्त रकम सरकार तथा सम्बन्धित निकायमार्फत सञ्चालन हुने प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उपलब्ध गराइने संघले जनाएको छ।

ईक्यानले आफ्ना सम्पूर्ण सदस्य, सदस्य संस्था, शैक्षिक परामर्श व्यवसायी, विश्वविद्यालय, कलेज तथा शैक्षिक संस्था, अन्तर्राष्ट्रिय शिक्षा प्रदायक, साझेदार संस्था, सरोकारवाला तथा शुभेच्छुकहरूलाई आफूले सक्ने आर्थिक, भौतिक तथा अन्य आवश्यक सहयोग प्रदान गरी राष्ट्रिय राहत अभियानमा हातेमालो गर्न अपिल गरेको छ।
सानो वा ठूलो जुनसुकै सहयोगले पनि विपद्मा परेका नागरिकका लागि महत्वपूर्ण अर्थ राख्ने भन्दै ईक्यानले आफ्नो क्षमता र इच्छाअनुसार सहयोग गरी प्रभावित नागरिकको जीवनमा आशा र भरोसा जगाउन आग्रह गरेको छ। ईक्यानमार्फत संकलित सहयोग रकम पारदर्शी रूपमा सरकारको सम्बन्धित राहत कोष वा निकायमार्फत प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुन:स्थापनाका लागि हस्तान्तरण गरिने जनाएको छ।
बाढी तथा विपद्का कारण ज्यान गुमाउनुभएका सम्पूर्णप्रति ईक्यानले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता भएका नागरिकहरू शीघ्र सकुशल परिवारको सम्पर्कमा आउन सकून् भन्ने कामना गर्दै प्रभावित परिवार तथा नागरिकप्रति गहिरो सहानुभूति, ऐक्यबद्धता र साथ व्यक्त गरेको छ।
‘आज उत्सव स्थगित गरेका छौँ, तर हाम्रो सामाजिक दायित्व स्थगित भएको छैन,’ ईक्यानले भनेको छ। विपद्को कठिन घडीमा राष्ट्र र नागरिकका लागि एकजुट हुन आग्रह गर्दै संघले ‘आजको हाम्रो सहयोग, कसैको भोलिको आशा बन्न सक्छ’ भन्ने सन्देश दिएको छ।