काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमण सामान्य अवस्थातर्फ आएकाले आर्थिक पुनरुत्थान नै सरकारको प्राथमिकतामा रहेको बताए । नेपाल दोस्रो चरणको आर्थिक सुधारको क्रममा रहेको भन्दै उहाँले यसलाई तीव्रतालाई दिन स्वदेशी तथा विदेशी लगानीलाई सहजीकरण गरिने बताए ।
काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन) को रजत जयन्ती तथा अवार्ड वितरण कार्यक्रमको अवसरमा उनले नेपालमा ढुक्क भएर लगानी भित्र्याउन र गर्न विदेशी लगानीकर्तालाई पनि आह्वान गरेका छन् । ‘नेपालमा ढुक्क भएर लगानी गर्नुहोस्,’ उनले भने, ‘तपाईंको सम्पत्ति र लगानीको सुरक्षाको ग्यारेन्टी सरकारले गर्छ ।’ २०४८ सालपछि नेपालले खुला बजार अर्थनीतिलाई आत्मसात् गरेको र त्यसपछि निजीक्षेत्र तथा विदेशी लगानी आउन शुरू भएकाले त्यसलाई थप बढवा दिँदै आर्थिक पुनरुत्थानलाई प्राथमिकता दिने उनको भनाइ छ ।
कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले भन्सारमा आधारित राजस्व, विप्रेषणमा आधारित अर्थतन्त्र चुनौतीपूर्ण रहेको बताए । विकासमैत्री नीतिगत ऐन तथा कानूनहरू बनाउनेतर्फ ध्यान दिइएको भन्दै उनले नेपालको खर्च गर्ने मोडालिटीमा पनि नयाँपन ल्याउन आवश्यक रहेको बताए । खरीद ऐन तथा नियमावलीलाई संशोधन गर्न लागिएको र निर्माण व्यवसायीहरूलाई प्रोत्साहन गर्ने नीति ल्याउन लागिएको उनले बताए ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। विश्वनाथ पौडेलले सार्वजनिक खरीद र सार्वजनिक योजना छनोट पारदर्शी नभएको बताए । संघीयतामा गइसकेपछि तल्लो तहमा पनि संस्थागत संरचना खडा भएको भन्दै उनले भने, ‘संस्था बनाउनेबित्तिकै काम हुँदैन भन्ने देखियो, अहिले जेसीबी भएकाहरू मेयर भएका छन् भने देशभरि कोतरिएका डाँडाहरूमात्रै छन् ।’
आर्थिक पुनरुत्थान तथा दोस्रो चरणको आर्थिक सुधारका लागि बजेटको बीचमा हुने ३७ प्रतिशत रकमान्तरलाई व्यवस्थापन गर्ने, सार्वजनिक सम्पत्तिको संरक्षण, सरकारको आकार घटाउने र खर्च तथा सार्वजनिक योजना छनोटलाई आवश्यकताका आधारमा मात्रै अघि बढाउन आवश्यक भएको उनले बताए ।
कार्यक्रममा कांग्रेसका सांसद् तथा उद्योगपति विनोद चौधरीले नियामक निकायलाई चुस्त बनाउँदै अर्थतन्त्रको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिए । सरकार बदलिने चरित्रमा फेरबदल आएको भन्दै उनले अब सबैको प्राथमिकतामा आर्थिक पुनरुत्थान हुन आवश्यक भएको उनले बताएको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS