काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको छ । भेटका क्रममा तामाङ समुदायको जनसंख्या, संस्कृति, आर्थिक–सामाजिक अवस्था लगायत विषयमा चर्चा भएको थियो ।
घेदुङले आउँदो माघ ५ गते सोनाम ल्होछारका अवसरमा काठमाडौँमा तामाङ सांस्कृतिक महोत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न लागेको जानकारी गराउँदै उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी भइदिन प्रधानमन्त्री कार्कीलाई अनुरोध गरेको छ ।
साथै घेदुङका पदाधिकारीहरुले तामाङ समुदायको जनसंख्या ३० लाखभन्दा बढी भए पनि जनगणनामा भएको त्रुटिका कारण १७ लाख हाराहारी मात्र देखिएकोमा प्रधानमन्त्री ध्यानाकर्षणसमेत गराएका थिए ।
प्रधानमन्त्री कार्कीले अहिलेको अवस्थाको लोकतान्त्रिक निकासका लागि निर्वाचन एक मात्र विकल्प भएकाले समाजका सबै तह र तप्काबाट सहयोगको अपेक्षा गरेको बताइन् ।
उनले भनिन्– ’मुलुक चुनावमा होमिएको छ। यो चुनाव सामान्य अवस्थाको चुनाव नभई मुलुकलाई निकास दिने र दिगो स्थिरतातिर लैजाने चुनाव हो । भदौ २३ र २४ गतेलाई दिमागमा राखौँ। अब बारम्बार यो अवस्था दोहोरिनुहुँदैन। युवाको आकांक्षाअनुरुप हामी चल्नुपर्छ। तपाईँहरु पनि आउँदो चुनावमा नयाँ, युवा र इमानदार सांसद जिताएर संसदमा पठाउनुहोस्। पुरानो मानसिकताले अब देश चल्दैन। पुरानो सोच र शैलीले पनि चल्दैन। अब नयाँ नै आउनुपर्छ, युवा आउनुपर्छ र इमानदार आउनुपर्छ। युवाको भावनाअनुसार शासन चल्नुपर्छ।’

उनले चुनावमा पैसाको खेल हुन नदिन पनि समुदायस्तरबाटै सबै चनाखो हुनुपर्ने धारणा राखेकी थिइन् ।

‘विगतमा पैसाको खेल भयो भन्ने गुनासो छ। भ्रष्टाचार अन्त्य गर्ने हो भने त्यसको सुरुवात चुनावबाटै हुनुपर्छ। मतदाता पनि यसमा चनाखो बन्नुपर्छ,’ प्रधानमन्त्रीको भनाइ थियो ।

FACEBOOK COMMENTS