काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले समावेशी चरित्रलाई आत्मसात् गर्दै जनताको सूचनाको हक प्रत्याभूत गराउनु सार्वजनिक सेवा प्रसारण संस्था (पीएसबी) मुख्य दायित्व भएको बताएका छन् । साथै उनले पीएसबी जनता र देशप्रति केन्द्रित रहेर समावेशिताको ऐना बन्नुपर्नेमा जोड दिए ।
साविक नेपाल टेलिभिजनमा आज भएको पीएसबीको पूर्वारम्भ कार्यक्रममा उनले पीएसबी सबै वर्ग, क्षेत्र, भषाभाषी, जातजाति र क्षेत्रको विविधता झल्कने समावेशिता र समानताको ऐना बन्नुपर्ने बताए । मन्त्री गुरूङले विविधताभित्र एकता कायम गर्ने गरी आफ्ना विषयवस्तु चयन गर्न पिएसबीलाई आग्रह गरे ।
विविधताभित्र एकताबद्ध राष्ट्र निर्माणका लागि पीएसबीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउँदै मन्त्री गुरूङले पीएसबीले अब सत्ताको तावेदारी नगरी जनताको सूचनाको हकको प्रत्याभूत गर्दै समाज र राष्ट्रप्रतिको दायित्व पूरा गर्नुपर्नेमा जोड दिए । पीएसबीले सहभागितामूलक, समानता र समावेशी अवधारणामा आधारित भएर काम गर्ने विश्वास पनि व्यक्त गरे ।
मन्त्री गुरूङले विकट ग्रामीण भेगका जनताको आवाज पीएसबीले बोल्नुपर्ने बताए । लोकतन्त्रको विगुल फुकेको रेडियो नेपाल र नेपाल टेलिभिजन एकीकृत पीएसबी प्रारूपमा आइपुग्दा यसको कार्यशैली समयानुकूल परिमार्जन गर्नुपछर्ने बताए । पीएसबीले सुशासनका लागि सरकारलाई झक्झक्याउनुपर्नेमा पनि उनले जोड दिए ।
बहुभाषी, बहुसांस्कृतिक, बहुजातीय हाम्रो समाजमा सबैका भावन समेट्ने उनले सुझाए । ‘अब दैलेखमा बस्ने राउटेदेखि तराईमा बस्ने मधेसका सबै जनताले रेडियो सुन्ने र टेलिभिजन हेर्ने अवसर पाउनुपर्छ,’ सरकारका प्रवक्ता गुरूङले भने, ‘अनि मात्रै यो सार्वजनिक सेवा प्रशारणको सार्थकता रहन्छ ।’
उनले जनतालाई सही सूचता दिने र सरकारको तथ्यपक आलोचना गर्ने बानीको विकास गर्न सुझाव दिए ।
FACEBOOK COMMENTS