काठमाडौं । सञ्चार तथा सूचना प्रवीधीमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा खोजी पत्रकारिताको अभाव रहेको बताएका छन् ।
नेपाल पत्रकार महासंघको आयोजना र राष्ट्रिय सूचना आयोगको सहकार्यमा आज काठमाडौंमा गरिएको ‘विश्वसनीय पत्रकारिताका लागि सूचनाको हकको प्रयोग’ सम्बन्धी अन्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री गरुङले समाजको वास्तविकता देखाउने र ध्यान केन्द्रित गराउने खालका खोजमूलक पत्रकारिता आवश्यकता रहेको बताए ।
उनले सम्पूर्ण सरोकारवालासँग छलफल गरेर आमसञ्चार विधेयक ल्याउने प्रयाेजनमा महत्त्वपूर्ण सुझाव दिन अनुरोध गरे ।
पत्रकारिताको गुणस्तरीयता महत्त्वपूर्ण रहने हुँदा पत्रकारलाई प्रशिक्षण दिन तालिम केन्द्र तत्काल आवश्यक रहेको पनि मन्त्री गुरुङले बताए ।
उनले भने, ‘हामीलाई गुणस्तरीय पत्रकारिताको खाँचो छ । त्यसका लागि तालिम केन्द्र आवश्यक छ ।’
नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले मुलुकमा सुशासन कायम गर्न सरकारको काममा पारदर्शिता जरुरी रहेको र सूचनाको हकले सरकारलाई जनताप्रति थप जवाफदेही बनाउने धारणा राखे ।
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा. सुरेशप्रसाद आर्चायले सूचनाको हक प्रत्येक नागरिकले पाउनुपर्ने भन्दै पत्रकारले यस हकलाई अझै नागरिकमुखी बनाउन लाग्नुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पत्रकारिता र सूचनाको हक पर्यायवाची जस्तै भएको बताइन् । उनले सञ्चारमन्त्रीलाई पत्रकार महासंघसँग सहकार्य गरेर नीति तथा सञ्चार योजना बनाउन अनुरोध गरिन् ।
FACEBOOK COMMENTS