ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु रहेको बताएका छन् ।
नेपाल प्रेस युनियन केन्द्रीय समितिद्वारा आयोजित लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको आज ललितपुरमा उद्घाटन गर्दै उनले लोकतन्त्र र प्रेस स्वतन्त्रतालाई बलियो बनाउन कार्यशैलीमा सुधार गर्नुपर्नेमा जोड दिए ।
‘लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु परिवर्तनका विषयमा भएको समिट महत्त्वपूर्ण छ, लोकतन्त्रमा चुनौती थपिएको देख्छु, लोकतान्त्रिक शासनमा जनताको अभिमत बलियो हुनुपर्छ, लोकतन्त्र कमजोर हुँदा प्रेस स्वतन्त्रता कमजोर हुन्छ,’ उनले भने ।
लोकतन्त्र र प्रेस स्वतन्त्रताबीच अन्तरसम्बन्ध रहेको चर्चा गर्दै मन्त्री गुरुङले प्रेस स्वतन्त्रताबाट समाज कसरी लाभान्वित हुन्छ भन्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।
उनले भने, ‘अनलाइनबाट गलत सूचना सम्प्रेषण भइरहेको छ, यसलाई नियन्त्रण गर्न चुनौतीपूर्ण छ । धार्मिक सहिष्णुता, सांस्कृतिक विविधतामाथि सामाजिक सञ्जालबाट गलत सूचना प्रवाह गरेर लोकतन्त्रलाई कमजोर पार्नेहरूविरुद्ध सम्पूर्ण सञ्चारजगत् एकजुट हुनुपर्छ ।’
उनले जलवायु परिवर्तनको असर रोेक्न एकीकृत ढङ्गले काम गर्नुपर्ने उनले बताए ।
‘हामीले काम गर्दा कुनै नेता वा पार्टी विशेषको स्वार्थमा परेर काम गर्नु हुँदैन, हामीले जनताका आवश्यकताका आधारमा विकास– निर्माणका काम गर्नुपर्छ । यसले लोकतन्त्रलाई सुदृढ बनाउँछ,’ उनले भने ।
मन्त्री गुरुङले विधिको शासन स्थापना र निष्पक्ष पत्रकारितामा जोड दिँदै मिडिया काउन्सिल विधेयकमा स्वनियमनको दायरामा अनलाइन मिडियालाई ल्याउने गरी प्रबन्ध भइरहेको जानकारी दिए ।
‘प्रेस भन्नेबित्तिकै छापामाध्यमलाई बढी बुझ्ने गरिन्छ, अनलाइन माध्यम पनि प्रेस नै हो, अनलाइन माध्यमबाट समस्या भएको छ,’ उनले भने ।
गत महिना २० करोड रुपैयाँभन्दा बढी ठगी भएको दृष्टान्त प्रस्तुत गर्दै उनले सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी भएको बताए ।
उनले जलवायु परिवर्तनको प्रत्यक्ष असर हेर्ने ठाउँ लोमान्थाङ हो भन्दै यो समिट महत्त्वपूर्ण भएको बताए ।
अन्तर्राष्ट्रिय पत्रकार महासङ्घकी उपाध्यक्ष सविना इन्द्रजितले प्रेस स्वतन्त्रताविना लोकतन्त्र सुदृढ नहुने बताइन् । उनले १५० भन्दा बढी राष्ट्रमा महासङ्घको उपस्थिति रहेको जानकारी दिँदै महासङ्घले प्रेस स्वतन्त्रताका पक्षमा काम गर्दै आएको बताइन् ।
नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष दीपक आचार्यले जलवायु सङ्कट विश्वको समस्या बनेको बताउँदै प्रेस स्वतन्त्रत र जलवायु परिवर्तनसम्बन्धी विषयलाई अगाडि बढाउनुपर्ने विचार व्यक्त गरे ।
महासङ्घका पूर्वध्यक्ष हरिहर विरहीले लोकतन्त्रमा मात्र नागरिक सर्वोच्चता सुनिश्चित हुने बताउँदै लोकतन्त्रको सफलता र मिडियाको भविष्यका लागि मिडिया, नागरिक समाज र राजनीतिक दल सशक्त हुनुपर्ने बताए ।
दक्षिण एशियाली क्षेत्रीय ट्रेड युनियन परिषद्का महासचिव लक्ष्मण बस्नेतले लोकतन्त्र, स्वतन्त्र प्रेस र जलवायु परिवर्तनमा नेपाल प्रेस युनियनले चालेको कदमको सराहना गरे ।
त्यस अवसरमा नेपाल प्रेस युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रेम केसी, महासचिव दिलीप पौडेलका साथै भारत, बङ्गलादेश, भुटानका प्रतिनिधिले प्रेस स्वतन्त्रता र जलवायु परिवर्तनका विविध पक्षबारे मन्तव्य व्यक्त गरेका थिए ।
यहाँको सम्मेलन सकेर उपस्थित १२० जना पत्रकार लोमान्थाङ प्रस्थान गरेका छन् । लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु परिवर्तनमा केन्द्रित रहेर नेपाल प्रेस युनियनले सम्मेलन आयोजना गरेको हो ।
FACEBOOK COMMENTS