काठमाडौं । सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको छ ।
बुधबार एक सूचना जारी गर्दै स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा आकस्मिकबाहेकका सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको जनाएको छ । बोर्डको ११ जेठमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकेलिएको भन्दै बीमा बोर्डले १६ जेठ अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका स्वास्थ्य बीमासम्बन्धी सेवा बन्द हुने उल्लेख छ ।
यो निर्णयसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका सयौँ निजी अस्पताल, मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएको ओपीडी, परीक्षण, शल्यक्रिया, औषधि तथा अन्य नियमित सेवा प्रभावित हुने भएको छ । आकस्मिक सेवा भने यथावत् रहने बोर्डले जनाएको छ ।
बीमा बोर्डका अनुसार अहिलेसम्म सेवाप्रदायक सस्थालाई १६ अर्ब रुपैयाँ तिर्न बाँकी छ ।

निजी अस्पतालहरूले लामो समयदेखि सरकारले स्वास्थ्य बीमावाफर्तको भुक्तानी नगरेको, दाबी रकम अड्काएको तथा प्रक्रियागत झन्झट बढाएको गुनासो गर्दै आएका थिए ।
