काठमाडौं । नेपाल समुदपार निकासी पैठारी संघले भारत हुँदै हुने सामान ढुवानीमा पछिल्लो समय निरन्तर विलम्ब भइरहेको गुनासो गर्दै सरकारको ध्यानाकर्षण गराएको छ।
संघको एक प्रतिनिधिमण्डलले मंगलबार वाणिज्य सचिव डा. रामप्रसाद घिमिरेलाई उनकै कार्यकक्षमा भेट गरी निजी क्षेत्रसँग सम्बन्धित विभिन्न चासोका विषयहरू प्रस्तुत गरेको हो।
भेटका क्रममा संघका महासचिव जयन्तकुमार अग्रवालले संघद्वारा तयार पारिएका सुझावहरू पेश गर्दै केही महिनायता नेपालका लागि आयातित सामान भारतीय भूमिमा ढुवानी गर्दा ढिलाइ भइरहेको जानकारी गराए। उनले नेपाली सामानको सहज ढुवानीका लागि थप रेल सेवा उपलब्ध गराउनेतर्फ पहल गर्न वाणिज्य मन्त्रालयसँग आग्रह गरे ।
महासचिव अग्रवालले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसअनुसार भारतीय र नेपाली बजारमा वस्तुको मूल्यमा ठूलो अन्तर नहुने गरी भन्सार महसुल तथा करका दर समायोजन गर्नुपर्ने आवश्यकता औंल्याए। यसो गर्न सके ग्रे–मार्केट नियन्त्रण गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
संघले तेस्रो मुलुकमा निर्मित मेसिन तथा औजारका पार्टपुर्जा भारतमार्फत आयात गर्न पाउने व्यवस्था मिलाउन नेपाल–भारत वाणिज्य सन्धिको प्रोटोकल संशोधन गर्न पनि माग गरेको छ। हालको व्यवस्थाका कारण मेसिन बिग्रँदा भारतमै उपलब्ध पार्टपुर्जा ल्याउन नपाएर सम्बन्धित मुलुकबाटै ल्याउनुपर्दा समय र लागत दुवै बढ्ने संघको गुनासो छ। यसका कारण अनधिकृत आयात बढ्दै राजस्वसमेत गुमिरहेको संघले जनाएको छ।

त्यसैगरी, सरकारले हाल स्थगनमा राखेको निर्यात नगद अनुदान तत्काल पुन: सञ्चालन गर्न, एजेन्सी ऐनका जटिल प्रावधान संशोधन गर्न, फर्म नवीकरणमा एकद्वार प्रणाली लागू गर्न तथा सरकारी निकायबीच कागजात आदान–प्रदानका लागि अनलाइन प्रणाली विकास गर्न संघले माग गरेको छ।

जवाफमा वाणिज्य सचिव डा. घिमिरेले आयात प्रतिबन्धसम्बन्धी विषयमा अध्ययन गर्न समिति गठन भइसकेको जानकारी गराउँदै संघले उठाएका विषय सम्बोधन गर्न मन्त्रालयको तर्फबाट सक्दो पहल गर्ने आश्वासन दिए।

FACEBOOK COMMENTS