काठमाडौँ । तिलौराकोटको प्राचीन शाक्य साम्राज्यको अवशेष खोजी कार्य भइरहेको छ ।
सो क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न उत्खनन कार्य भइरहेको हो । यद्यपि बजेट अभावका कारण विश्व सम्पदा सूचीका लागि पहिचान गरिएका अन्य १४ सम्भावित विश्व सम्पदा स्थलको अध्ययन अगाडि बढ्न सकेको छैन । नेपालका दुई सांस्कृतिक र दुई प्राकृतिक सम्पदा स्थल विश्व सम्पदा सूचीमा सूचीकृत छन् ।
सरकारले मुस्ताङको मुक्तिनाथ उपत्यकाको गुफा, खोकना, रामग्राम (बुद्धको अवशेष स्तूप), पनौतीको मध्यकालीन वास्तुकला, पाल्पाको तानसेन दरबार, रिडी, सिञ्जा उपत्यका, दैलेखको भूर्ति मन्दिर परिसर, लोमान्थाङको मध्यकालीन पर्खाल, कीर्तिपुरको मध्यकालीन बस्ती, बज्रयोगिनी र साँखु क्षेत्र, नुवाकोट दरबार, गोरखा दरबार, तिलौराकोट र जानकी मन्दिर गरी १५ स्थानलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने गरी पहिचान गरेको थियो ।
पुरातत्त्व विभागका सूचना अधिकारी डा. सुरेशसुरस श्रेष्ठका अनुसार सम्भावित विश्व सम्पदाका लागि पहिचान गरिए पनि स्थानीय चासो र बजेट अभावमा सो क्षेत्रको थप अध्ययन एवं अनुसन्धान अगाडि बढ्न सकेको छैन । विश्व सम्पदामा सूचीकृत हुन आवश्यक तथ्य र प्रमाण जुटाउन अध्ययन र अनुसन्धान निकै महत्त्वपूर्ण हुन्छ । सो कार्यका लागि विशेषज्ञसहितको अनुसन्धान र उत्खनन आवश्यक हुन्छ, जुन बजेटका हिसाबले महँगो हुन्छ । उनले भने “अनुसन्धान र अध्ययनका लागि विभागसँग बजेट पर्याप्त छैन । राज्यले अनुसन्धान र संरक्षणमा ठूलो बजेट लगानी गर्नुपर्छ ।”
उनका अनुसार नेपालका सांस्कृतिक सम्पदाको अध्ययन, अनुसन्धान र संरक्षण गरी पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने हो भने वार्षिक ३० करोड रुपयाँभन्दा बढीको बजेट तयार गर्नुपर्ने हुन्छ । उनले भने “नेपालका सम्पदाको अध्ययन अनुसन्धान गर्ने नै हो भने बजेट अपुग छ । भूकम्पपछि निर्माणमा केही बजेट आए पनि नियमित अनुसन्धानको बजेट निकै कम छ ।” स्थानीय चासो र जवाफदेहिताको कमीका कारणसमेत सम्भावित विश्व सम्पदा स्थलको काम अगाडि बढ्न नसकेको उनले बताएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS