काठमाडौं । साहस ऊर्जा लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा उल्लेख्य वृद्धि भएको जनाएको छ।
विवरणअनुसार कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा एक अर्ब ३५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको ८९ करोड ५१ लाख रुपैयाँको तुलनामा ५१.८४ प्रतिशतले बढी हो।
कम्पनीले सोलुखुम्बु जिल्लास्थित ८६ मेगावाट क्षमताको सोलु खोला (दूधकोशी) जलविद्युत आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्दै आएको छ। गत आर्थिक वर्ष कम्पनीले विद्युत बिक्रीबाट दुई अर्ब ८४ करोड रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको दुई अर्ब ६४ करोड रुपैयाँभन्दा बढी हो।
प्रत्यक्ष कर तथा अमोर्टाइजेसन कट्टा गरेपछिको कुल नाफा एक अर्ब ९९ करोड रुपैयाँ पुगेको छ भने प्रशासनिक खर्च कटाएर सञ्चालन नाफा एक अर्ब ९७ करोड रुपैयाँ कायम भएको कम्पनीले जनाएको छ।
कम्पनीको वित्तीय खर्च अर्थात् ब्याज दायित्वमा उल्लेख्य कमी आएको छ। अघिल्लो आर्थिक वर्ष ८० करोड २१ लाख रुपैयाँ रहेको वित्तीय खर्च घटेर गत आर्थिक वर्ष ५७ करोड ७५ लाख रुपैयाँमा झरेको छ। वित्तीय खर्चमा आएको कमीले कम्पनीको नाफा वृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको जनाइएको छ।
साहस ऊर्जाले आफ्नो वित्तीय आधारसमेत थप सुदृढ बनाएको छ। कम्पनीको चुक्ता पूँजी चार अर्ब ५७ करोड ३८ लाख रुपैयाँ रहेको छ। जगेडा कोष अघिल्लो आर्थिक वर्षको तीन अर्ब १६ करोड २० लाख रुपैयाँबाट बढेर तीन अर्ब ६८ करोड तीन लाख रुपैयाँ पुगेको छ।
त्यसैगरी, कम्पनीमाथिको मध्यम तथा दीर्घकालीन ऋण नौ अर्ब १७ करोड रुपैयाँबाट घटेर आठ अर्ब ८६ करोड रुपैयाँमा सीमित भएको छ। कम्पनीको कुल सम्पत्तिको आकार भने १८ अर्ब ४६ करोड १० लाख रुपैयाँ पुगेको छ।