काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका १८ निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष (आव) २०७७–७८ मा ४ अर्ब ६२ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन्, तीमध्ये नेप्सेमा सूचीकृत निर्जीवन बीमा कम्पनीहरूले त्यो बराबरको नाफा कमाएका हुन् ।
बीमा कम्पनीहरूले हालै सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । वित्तीय विवरणअनुसार गत आवमा बीमा कम्पनीहरूको नाफा औसत्मा ७ दशमलव ३३ प्रतिशतले बढेको छ ।
अघिल्लो आवको तुलनामा बीमा कम्पनीहरूको नाफा बढे पनि वृद्धिदर भने खुम्चिएको छ । अघिल्लो आवमा कम्पनीहरूको नाफा १२ दशमलव ४१ प्रतिशतले बढेको थियो । तर, यसपटक भने नाफा वृद्धिदर खुम्चिएर ७ दशमलव ३३ प्रतिशतमा सीमित भएको छ ।
भारतीय स्वामित्वको नेशनल इन्स्योरेन्स र दि ओरियन्टल इन्स्योरेन्स भने नेप्सेमा सूचीकृत भएका छैनन् । साथै, उनीहरूले वित्तीय विवरण पनि सार्वजनिक गरेका छैनन् ।
कोरोना महामारीका कारण बीमा व्यवसाय प्रभावित हुँदा नाफा वृद्धिदर खुम्चिएको कम्पनीहरूको भनाइ छ । कोरोना महामारीका बीच नाफा बढ्नुलाई नै सकारात्मक रूपमा लिनुपर्ने उनीहरू बताउँछन् ।
गत आवमा व्यवसाय सञ्चालनबाट त्यति नाफा कमाउन नसकिएको एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सुनीलवल्लभ पन्तले बताए । शेयर कारोबारबाट नाफा बढ्न सहयोग पुगेको उनको भनाइ छ ।
‘गत आवमा सञ्चालन नाफामा त्यति वृद्धि छैन । कम्पनीहरूले शेयर कारोबारबाट आम्दानी गर्दा कुल नाफामा वृद्धि देखिएको हो,’ उनले भने । बीमांकीय मूल्यांकनपछि भने कम्पनीहरूको नाफा थप बढ्ने बताइएको छ ।
यसपालि नाफा कमाउने मामलामा नेको इस्योरेन्स अग्र स्थानमा आएको छ । उक्त कम्पनीले रू। ५४ करोड ६ लाख खुद नाफा कमाएर आफूलाई पहिलो स्थानमा ल्याएको छ । नाफा कमाउने मामलामा अघिल्लो आवमा राष्ट्रिय बीमा कम्पनी पहिलो नम्बरमा रहेको थियो ।
यस्तै, नाफा कमाउने मामिलामा शिखर इन्स्योरेन्स दोस्रो नम्बरमा आएको छ । उक्त कम्पनीले ४७ करोड ५७ लाख नाफा कमाएको छ । तेस्रो स्थानमा रहेको सगरमाथाले भने ४५ करोड १५ लाख नाफा कमाएको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS