काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध चौतर्फीरुपमा कुप्रचार गरिएको दाबी गरेका छन् ।
विहिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नवनिर्वाचित सांसदहरुलाई विशेष निर्देशन दिने कार्यक्रममा वोल्दै ओलीले फागुन २१ को निर्वाचनमा पार्टीविरुद्ध चौतर्फीरुपमा कुप्रचार गरिएको बताउदै नतिजा अस्वाभाविक भएको बताएका हुन् ।
ओलीले निर्वाचन प्रक्रिया र परिणामबारे विस्तृत टिप्पणी गर्ने बेला नभए पनि अहिलेको नतिजा स्वभाविक नभएको बताए । उनले भने– ’हामी नराम्रो काम गरेर पछाडि परेका होइनौं । हामीमाथि असत्य र कुप्रचारबाट प्रहार भयो । हाम्रो सभ्य शैलीले त्यसको मुकाबिला गर्न सकेन ।’
ओलीले पार्टीका नेता कार्यकर्तालाई सामाजिक सञ्जालको अत्यधिक र प्रभावकारी प्रयोग गर्न निर्देशन दिदै सामाजिक सञ्जालमा स्टाटस लेख्दा चाहिनेभन्दा बढी नचाहिने कुरा लेख्ने गरेको र ती प्रवृत्ति सच्याउनु पर्ने बताए । उनले भने– हामी आफैले सामाजिक सञ्जालको अत्यधिक प्रयोग गर्नुपर्छ र बोल्नु पर्छ । अहिलेको कुप्रचारलाई चिर्न तथ्यमा आधारित भएर प्रस्तुत हुन आवश्यक छ ।’
ओलीले एमालेका नेताहरुले नै पार्टीमा भोट नहालेको, चुनाव प्रचारमा नखटेको र अहिले सामाजिक सञ्जालमा पार्टीविरुद्ध नै अभिव्यक्ति दिदै हिडेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

FACEBOOK COMMENTS