काठमाडौं । सम्पत्ति छानबिन आयोगमा सम्पत्ति विवरण बुझाउने व्यक्तिको संख्या पछिल्ला दिनमा बढेको छ ।
हालसम्म ११ हजारभन्दा बढी व्यक्तिले आफ्नो सम्पत्ति विवरण बुझाएको आयोजले जनाएको छ । यस्तै विभिन्न व्यक्ति विरुद्ध छानबिनको माग गर्दै दुई हजार भन्दा बढी उजुरी दर्ता भएका छन् ।
वि: सं २०६२/६३ पछि सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन गर्न गठित आयोगले पहिलो चरणमा करिब २५ हजार भन्दा बढी बहालवाला तथा अवकाश प्राप्त कर्मचारी, राजनीतिक पदाधिकारी लगायतबाट विवरण सङ्कलन गर्ने लक्ष्य राखेको थियो ।
तर अपेक्षाअनुसार विवरण नआएपछि आयोगले विवरण बुझाउने समय असार मसान्तसम्मका लागि थप गरेको छ । आयोगका प्रवक्ता गणेश केसीले अहिले दैनिक १५० भन्दा बढी व्यक्तिले कार्यालयमा उपस्थित भएर वा इमेल तथा हुलाकमार्फत सम्पत्ति विवरण पठाइरहेको बताएका छन ।
प्राप्त विवरणको प्रारम्भिक अध्ययन समेत सुरू भइसकेको आयोगले जनाएको छ । आयोगका अनुसार पछिल्लो समय पूर्वमन्त्री, राजनीतिक नेतृत्वमा रहेका व्यक्तिहरू तथा विभिन्न संवैधानिक निकायका अवकाशप्राप्त पदाधिकारीहरू पनि सम्पत्ति विवरण बुझाउन अग्रसर भएका छन ।

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली र ओमप्रकाश मिश्र सहित करिब ८० जना पूर्वसंवैधानिक पदाधिकारीले आफ्नो सम्पत्ति विवरण आयोगमा बुझाइसकेका छन् ।
यस्तै पूर्वमुख्य सचिव लीलादेवी गड्तौला , पूर्वमन्त्रीहरू माधवप्रसाद पौडेल, सीपी मैनाली, रघुजी पन्त र भीम रावलले पनि आयोगमा आफ्नो सम्पत्ति विवरण पेस गरिसकेका छन् ।
यस्तै नागरिकबाट आउने उजुरीको संख्या पनि निरन्तर बढिरहेको आयोगले जनाएको छ । हालसम्म इमेल मार्फत दुई हजारभन्दा बढी उजुरी प्राप्त भइसकेका छन् । आयोगले प्राप्त उजुरी र सम्पत्ति विवरणको अध्ययन गर्दै आवश्यक छानबिन प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।
आयोगले तोकिएको समयभित्र सम्पत्ति विवरण नबुझाउने व्यक्तिमाथि कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ । साथै, विवरण नबुझाउनेहरूको नाम सार्वजनिक गर्ने विषयमा पनि आवश्यक तयारी भइरहेको आयोगले जनाएको छ ।
आयोगले सम्पत्ति विवरण सङ्कलन, उजुरीको अध्ययन र आवश्यक अनुसन्धानलाई आगामी दिनमा थप प्रभावकारी रूपमा अघि बढाइनेछ ।