काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ उम्मेदवार बनेको फुबल चितवन क्लब (एफसी चितवन) का अध्यक्ष सचिन ढकालले उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् ।
रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा परेकोभन्दै चौतर्फी विरोध भएपछि उनले शनिबार उम्मेदवारी फिर्ताको घोषणा गरेको हुन् । ‘नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै यस पटक व्यक्तिगत कारणवश उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु,’ ढकालले फेसबुकमा लेखेका छन् ।
युवाको सामूहिक नेतृत्वमा सुशासनसहितको समुन्नत नेपाल निर्माण गर्ने अभियानप्रति निरन्तर प्रतिबद्ध रहने भन्दै उनले आगामी दिनमा राष्ट्र र समाजको हितमा राजनीतिक जिम्मेवारी बहन गर्न तयार रहेको प्रतिबद्धता पनि जाहेर गरेका छन् ।
FACEBOOK COMMENTS