काठमाडौं । प्रधानन्यायाधीशमा नियुक्तिका निम्ति सिफारिस गरिएका सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माविरुद्धको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ ।
मंगलबार बिहान बसेको समिति बैठकमा प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना र उनीविरुद्ध प्राप्त उजुरीका सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढाइएको हो ।
बैठकमा सदस्यलाई सम्बोधन गर्दै समिति सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माविरुद्ध प्राप्त उजुरीको व्यवस्थापन र वितरणका सम्बन्धमा जानकारी दिए । प्राप्त उजुरीमध्ये केही इमेलमार्फत र खामबन्दी अवस्थामा छन् ।
‘गोप्य’ भनी वर्गीकरण गरिएका उजुरीको गोपनीयता कायम राख्न उजुरीकर्ताको नाम हटाएर (कोडिङ गरेर) मात्र सदस्यलाई अध्ययनका निम्ति उपलब्ध गराउन सचिवालयलाई निर्देशन दिइएको छ । यी उजुरीको संवेदनशीलतालाई ध्यानमा राख्दै गोपनीयता कायम गरिदिन सांसद र सञ्चारकर्मीलाई समेत आग्रह गरिएको छ ।
संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध परेका उजुरी खोलिदै
