नरम स्वभाव, हँसिलो अनुहार भएकी बहुप्रतिभाकी धनी साहित्यकार, गीतकार, शिक्षासेवी तथा सञ्चारकर्मी बिमला हुमागाईं सामाजिक कार्यमा पनि उतिकै सक्रिय छिन् ।
विगत एक दशकदेखि विभिन्न क्षेत्रमा सक्रिय रहेर देश र जनतालाइ सेवा गर्दै आएकी मिडिया पर्सनालिटी बिमलाले सञ्चारक्षेत्रको माध्यमबाट जनतालाई सुसूचित गर्दै हजारौं पिडित नेपालीहरु दुःखको घाउमा मलम पट्टि लगाउन सफल भएकी छिन् ।
महिला सशक्तीकरण, सम्मान र स्वतन्त्रतालाई प्रबर्द्धन गर्दै नारी हकहितमा दरिलो आवाज बनेकी बिमला हुमागाईं बहुप्रतिभाशाली, भर्सटाइल नारीकी रुपमा परिचित छिन् । भबिष्यमा शिक्षा, साहित्य, राजनीति र सामाजिक कार्यमा नै आफ्नो जीवन व्यतित गर्ने सोच बनाएकी बिमला निरन्तर समाज परिवर्तनमा प्रयासरत छिन् । कानुनको विद्यार्थी समेत रहेकी साहित्यकार बिमलासँग गरिएको संक्षिप्त कुराकानी :-
आजभोलि के गर्दै हुनु हुन्छ ?
आजभोलि पुस्तक लेखन, गीतसंगीत, बोध इन्टरटेनमेन्ट प्रालिको दैनिक कार्यलगायत विभिन्न संघ संस्था र राजनीति गतिबिधिमा समय व्यतित गर्दैछु ।
यति धेरै क्षेत्रमा संलग्न हुनुहुन्छ, समय व्यवस्थापन कसरी गरिरहनु भएको छ ?
सर्वप्रथम त मानिसमा काम गर्ने इच्छाशक्ति हुनुपर्छ । समयलाई व्यवस्थापन गर्न गाह्रो हुँदैन । कोभिड–१९ र लकडाउनले मारमा परेको हाम्रो मनोरञ्जन क्षेत्रलाइ अगाडि बढाउन हामी नै सक्रिय हुनुपर्छ । मेरो दैनिकी एकदम व्यस्ततामा बितिरहेको छ । बिहान उठेर योगा गर्ने, दिउँसो कलेज र कार्यालय, विभिन्न कार्यक्रम, गीत संगीत र साहित्य लेखन तथा नयाँ म्युजिक भिडियोहरुको छायांकनको तयारी गरिरहेकी छु । देश र समाजका लागि सेवा गर्छु भन्ने दृढ सङ्कल्प लिएर अगाडि बढ्दा अवश्य समय व्यवस्थापन गर्न सकिन्छ ।
कुन पुस्तक निकाल्ने तयारीमा हुनुहुन्छ ?
म साहित्य लेखनमा रुची राख्ने महिला भएको हुँदा मेरो पहिलो साहित्य लेखन अधबैंसेलार्इ अत्यधिक पाठकले मन पराएको हुँदा अहिले म मेरो दोस्रो प्रयास ‘बिग्रिएको रिदम’ ल्याउने तयारीमा छु । जुन मानसिक स्वास्थ्यको बारेमा लेखिएको पुस्तक हो ।
सामाजिक कार्यमा समेत तपाइँ सक्रिय हुनुहुन्छ, के कस्ता कामहरु गर्दै हुनुहुन्छ ?
म एक सामाजिक महिला हुँ, अरुको दुःख पीडा देख्न सक्दिनँ । हामी सामाजिक प्राणी भएर जन्मेपछि समाजको लागि समेत ठोस योगदान पुर्याउनुपर्छ जस्तो लाग्छ । दुःख, पीडामा कोही छ भने म देख्न सक्दिनँ । लकडाउनको समयमा खाना वितरणदेखि राहत वितरणसम्मको कार्यहरु गरेको छु । मानिस आफैले चाहेर कोही पनि अनाथ र गरिब हुने होइन त्यसैले आफूले आर्जन गरेको रकमबाट केही प्रतिशत सामाजिक कार्यमा लगाउने गरेकी छु ।
जीवनको अर्थ के हो ?
जीवन आफ्नो लागि मात्र जीउनुको कुनै अर्थ हुँदैन । हामी सामाजिक प्राणी भएकाले गर्दा देश र समाजका लागि केही गर्नुपर्छ भन्ने मान्यता राख्छु । यो देशलाइ समृद्ध अनि विकसित बनाउने जिम्मा हाम्रो पनि हो । काम गर्दै जाँदा कहिले राम्रो हुन्छ कहिले नराम्रो हुन्छ । तर पनि हामी आफ्नो लक्ष्यबाट विचलित नभई राम्रो कामका लागि अगाडि बढ्नु पर्छ तसर्थ जीवन सुख दुख, हाँसो र रोदनको सम्मिश्रण पनि हो । जीवन एउटा निरन्तर चलिरहने प्रक्रिया हो, कर्म गर्नुहोस् फल आफैं मिल्छ ।
जीवनका भोगाइहरु के हुन् ?
जीवन जिउनु एक कला हो । जन्मिएपछि हामी एकदिन मर्नुनै पर्छ । तर, हामी हाम्रो जीवनकालमा कस्तो जीवन बाँच्छौं भन्ने कुरा हाम्रो कलाको कुरा हो । कसैले गुणस्तरीय जीवन बाँच्छन्, कसैले बेकारको जीवन बाँच्छ । एउटा भनाई छ, ‘जीवन कति लामो बाँच्छौं, त्यसले कुनै अर्थ राख्दैन । तर, कस्तो जीवन बाँच्छौं, त्यसले खास अर्थ राख्छ ।’
जन्म पश्चात् जीवनलाई सफल बनाउनु उद्देश्य प्राप्ती हो । जीवनमा सफलताको लागि ईच्छाशक्ति, ज्ञानशक्ति र कर्मशक्तिको सदुपयोग गर्नुपर्छ । इच्छाशक्ति र कर्म गर्ने व्यक्तिले नै ज्ञान शक्ति प्राप्त गर्छ । जब निराकार आत्मा, साकार शरीर, इन्द्रीय र मनको साथ मिल्छ, तब शरीरमा शक्तिको सञ्चार हुन्छ । जन्म भएपछि आफ्नो पूर्णशक्तिको विकास गर्नु जीवनको लक्ष्य हो ।
जीवनमा हरेक मानिसको सपना हुन्छ । अधिकांश मानिस आफूलाई सफल, सबल र सक्षम बनाउन चाहान्छन, तर हामीले आफूले भने जस्तो जीवन व्यतित गर्न सकिरहेको हुँदैनौं । तसर्थ सुख दुःखको समीश्रणलाइ आत्मासात् गर्दै सत्कर्म गर्नु जीवनको भोगाइ हो ।
तपाइँलाइ समाज परिवर्तन गर्न के गर्नु पर्छ जस्तो लाग्छ ?
म एउटा राजनीति सिक्दै गरेको महिला हो । नेपाली राजनीति तथा सामाजिक वितृष्णाले गर्दा समाज नकारात्मक सोचको शिकार बन्दै गइरहेको छ भने त्यो समाजभित्रका पात्र हामी चाहिँ सकारात्मक कसरी हुन सकौंला ? समाज नकारात्मक सोचले अगाडि बढ्दैन भन्ने थाहा छ ।
तर, पनि नकारात्मक विचारको ओइरो छ । हाम्रो समाजमा आलोचना गर्ने प्रवृत्ति संस्कारकै रूपमा विकास भइरहेको छ, जहाँ इन्टरनेटमा पहुँच हुनेहरूका लागि अहिले आफ्नो गुनासो व्यक्त गर्न फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जाल राम्रो माध्यम बनिरहेको छ ।
अहिलेका युवाहरुलाई भविष्यप्रति उसलाई ढुक्क बनाउन सक्नुपर्छ । काम गरेपछि सफल भइन्छ, लगानी गरेपछि नाफा हुन्छ, मेहनत गरेपछि प्रगति हुन्छ, यात्रा प्रारम्भ गरेपछि चाहेको गन्तव्यमा अवश्य पुगिन्छ भन्ने विश्वास दिलाउनुपर्छ । बलियो आत्मविश्वास तयार पार्नुपर्छ । यस्तो उच्च मनोबल बनेपछि मात्रै व्यक्तिले हरेक क्षेत्रमा आफूलाई प्रतिस्पर्धीका रूपमा उभ्याउँछ ।
प्रसन्नता, उत्साह, उमंग र प्रशंसाले भरिएको समाजमा मात्रै उन्नतिको सम्भावना हुन्छ । निराशा, कुण्ठा मात्रै व्यक्त गर्ने, अरूको अनावश्यक चियोचर्चो र आलोचना गर्ने संस्कारले सृजनात्मकता सम्भव हुँदैन । यसका लागि सकारात्मक सोचकै आवश्यक हुन्छ र समाज परिवर्तन हुन्छ । सामाजिक सोच, विचार, चिन्तन र व्यवहार गतिशील प्रक्रिया हो ।
समयक्रममा रुपान्तरण अवश्यम्भावी छ । सामाजिक रुपान्तरण सामाजिक विकासका लागि अपरिहार्य छ ।
अन्त्यमा भन्न चाहनुभएका केहि कुराहरू छन् कि ?
मलाई तपाइँहरूको लोकप्रिय सञ्चारमाध्यममा आफ्नो कुरा राख्ने मौका दिनुभएकोमा धन्यवाद दिन चाहन्छु । अहिले मुलुक राजनीतिक, आर्थिक सङ्कटमा फसेको छ । दुरदर्शी नेतृत्व देशले नपाउँदा सम्पूर्ण जनताले कष्ट भोग्नु परेको छ । चाँडै नै जनताहरुले सुख शान्तिको अनुभूति गर्न पाएको खण्डमा मुलुक सम्वृद्धिको बाटोमा उन्मुख होला जस्तो लाग्छ । अबको अवस्थामा हामी आफै चेतनशील भएर मुलुक र समाज परिवर्तनका लागि अग्रसर हुनुपर्छ । तसर्थ समाज परिवर्तन गर्न हामी आफैंबाट शुरू गरौं ।
आजको विषम परिस्थितिमा एकअर्कालाई सकेको मानवीय सहयोग गर्न हार्दिक पनि अपिल गर्दछु । गीत संगीत, चलचित्र, मोडलिङ र पत्रकारिता क्षेत्रलाइ व्यवस्थित बनाउन हामी आफैं लागि परौं ।
FACEBOOK COMMENTS