काठमाडौं । मलेसियाको विद्युतीय सवारी (ईभी) बजारमा प्रोटोन ई.मास ५ सबैभन्दा बढी बिक्री तथा दर्ता हुने विद्युतीय गाडी बनेको छ। सन् २०२६ को अक्टोबर महिनामा यस मोडलले मलेसियाको कुल ईभी बजारको झण्डै आधा हिस्सा ओगट्न सफल भएको हो।
अक्टोबरमा प्रोटोन ई.मास ५ का २ हजार २६२ वटा गाडी दर्ता भएका छन्। यो संख्या मलेसियामा सो महिनामा दर्ता भएका कुल विद्युतीय सवारीको ४९.३ प्रतिशत हो।
उक्त महिनामा मलेसियामा कुल ४ हजार ५९२ वटा विद्युतीय सवारी दर्ता भएका थिए। यो संख्या सेप्टेम्बरको तुलनामा २३.८ प्रतिशतले कम हो। साथै, सन् २०२६ को फेब्रुअरीयताकै सबैभन्दा कम मासिक ईभी दर्ता हो।
यसैगरी, प्रोटोनको अर्को विद्युतीय मोडल ई.मास ७ का ५५४ वटा गाडी अक्टोबरमा दर्ता भएका छन्। ई.मास ५ र ई.मास ७ गरी यी दुई मोडलको संयुक्त बजार हिस्सा ६१.३ प्रतिशत पुगेको छ। यसले मलेसियाको विद्युतीय सवारी बजारमा प्रोटोनको बलियो उपस्थितिलाई देखाएको छ।
अर्कोतर्फ, अक्टोबर महिनामा मलेसियामा हाइब्रिड सवारीको दर्ता संख्या ५ हजार २३ पुगेको छ। यो संख्या यस वर्ष दोस्रो पटक पूर्ण विद्युतीय सवारीको दर्ताभन्दा बढी हो। यसले मलेसियाको अटोमोबाइल बजारमा उपभोक्ताको रोजाइ तथा वैकल्पिक ऊर्जा सवारीप्रतिको आकर्षणमा परिवर्तन भइरहेको संकेत गरेको छ।

नेपालमा प्रोटोनका विद्युतीय सवारी शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रालिले आधिकारिक वितरकका रूपमा बिक्री गर्दै आएको छ।

नेपालमा ई.मास ५ का दुई भेरियन्ट

प्रोटोन ई.मास ५ नेपाली बजारमा प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छन्। नेपालको कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सेगमेन्टमा पहिलो रियर ह्विल ड्राइभ लेआउट रहेको यस गाडीमा ८५ किलोवाट क्षमताको मोटर र ४० किलोवाट आवरको सीएटीएल एलएफपी ब्याट्री जडान गरिएको छ।

गाडीमा ४.९५ मिटरको टर्निङ रेडियस, रियर मल्टि–लिंक सस्पेन्सन तथा भेहिकल टु लोड (भीटूएल) सुविधा उपलब्ध छ। यसको अगाडिको फ्रङ्कमा ७० लिटर र पछाडिको लगेज स्पेस ३७५ लिटरसम्म विस्तार गर्न सकिने व्यवस्था छ। साथै, ३२ वटा स्टोरेज कम्पार्टमेन्टले यसको उपयोगितालाई थप बढाएका छन्।
यसमा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सुविधा पनि उपलब्ध छन्। नेपाली बजारमा ई.मास ५ को मूल्य ३२ लाख ९९ हजार रुपैयाँबाट सुरु हुन्छ।
ई.मास ७ मा ४१० किलोमिटरसम्मको रेन्ज
प्रोटोन ई.मास ७ पनि प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ। यसमा ४१० किलोमिटरसम्मको डब्लुएलटीपी रेन्ज दिने एजिस सर्ट ब्लेड ब्याट्री प्रविधि प्रयोग गरिएको छ।
१२–इन–१ इन्टिग्रेटेड मोटर र डीसी फास्ट चार्जिङ सुविधा रहेको यस गाडीमा १५.४ इन्चको २.५के टचस्क्रिन, १६ स्पिकरयुक्त फ्लाइम साउन्ड सिस्टम, एप्पल कारप्ले, एन्ड्रोइड अटो तथा विन्डशील्ड हेडअप डिस्प्ले उपलब्ध छन्। यसमा पनि भेहिकल टु लोड सुविधा रहेको छ।
नेपाली बजारमा प्रोटोन ई.मास ७ को मूल्य ४९ लाख ९९ हजार रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ।
मलेसियामा ई.मास ५ ले हासिल गरेको सफलताले प्रोटोनको विद्युतीय सवारी बजार विस्तारमा महत्वपूर्ण उपलब्धि थपेको छ। नेपालमा पनि जगदम्बा मोटर्समार्फत प्रोटोनले विद्युतीय सवारीको बिक्री तथा सेवा सञ्जाल विस्तार गर्दै आएको छ।