झापा । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमतिबाटै प्रदेशको नामाकरण गरिने बताएका छन् ।
झापाको विर्तामोडमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार अभिनन्दन तथा सम्मान कार्यक्रममा उनले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूको सहमतिबाट नामकरण गर्ने आफ्नो योजना बताए ।
“अनुकूल समयमा सकभर छिट्टै प्रदेशको नामाकरण गर्छौँ”, उनले भने, “सहमति जुटेन भने बहुमतबाट भए पनि नामकरण हुन्छ ।” हाल प्रदेश नं १ बाहेकका प्रदेशको नामाकरण भइसकेको छ ।
यसअघि प्रदेश नं १ को नामकरण प्रयासमा आफ्नो दल सहयोगी बन्न खोज्दा पनि सफल नबनेको दाबी गर्दै नेकपा ९एमाले० स्थायी कमिटीका सदस्यसमेत रहेका मुख्यमन्त्री कार्कीले भने, “हाम्रा कारणले नामकरण रोकिएको होइन ।”
उनले प्रदेश नं १ मा पुरानो सञ्चार प्रतिष्ठान ब्यूँताउने जानकारी दिए । मुख्यमन्त्री कार्की प्रदेशको पहिलो सरकारका बेला आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री थिए । त्यसबेला आफूले नै सञ्चार प्रतिष्ठान गठन गरेको प्रसङ्ग जोड्दै उनले अब कानुन नै बनाएर प्रतिष्ठानलाई अघि बढाउने बताए ।
पत्रकार उपचार कोष सञ्चालन र पेसागत सुरक्षाका लागि प्रदेश सरकारले के-कस्तो सहयोग गर्नुपर्छ भनेर चाँडै नै नेपाल पत्रकार महासङ्घ, प्रेस काउन्सिल र पत्रकारहरूको सङ्घसङ्गठनसँग परामर्श गर्ने उहाँले प्रतिबद्धता व्यक्त गरे ।
FACEBOOK COMMENTS