काठमाडौँ । प्रदेश तथा स्थानीय तहका पदाधिकारी र कर्मचारीले आफूखुसी विदेश भ्रमण गर्ने गरेको पाइएको छ । कानुनविपरीत सम्बन्धित कर्मचारी र पदाधिकारीको कार्यक्षेत्र नभएका कार्यक्रममा समेत प्रदेश तथा स्थानीय तहका पदाधिकारी र कर्मचारीले आफूखुसी विदेश भ्रमण गर्ने गरेका हुन् ।
ठूलो सङ्ख्यामा प्रदेश र स्थानीय तहका पदाधिकारी र कर्मचारीले आफूखुसी रूपमा विदेश भ्रमण गर्ने गरेको पाइए पनि यकिन तथ्याङ्क भने सङ्कलन नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कर्यालयले जनाएको छ । सो कार्यालयका सूचना अधिकारी कविता फुयाँलले प्रदेश तथा स्थानीय तहका पदाधिकारीको विदेश भ्रमणसम्बन्धी प्रदेश सरकारबाट सिफारिस भई आएका विषयमा विश्लेषण गर्दा पदाधिकारी र कर्मचारीले आफूखुसी विदेश भ्रमण गर्ने गरेको पाइएको बताए ।
उनका अनुसार प्रदेश तथा स्थानीय तहका पदाधिकारीको धेरैजसो निमन्त्रणा व्यक्तिगत रूपमा प्राप्त भएको, गैरसरकारी संस्थाबाट विदेश भ्रमणको कार्यक्रम आयोजना भएको, सम्बन्धित पदाधिकारीको कार्यक्षेत्रसँग सम्बन्धित नभएको, कतिपय अवस्थामा आमन्त्रण गर्ने संस्थाको आधिकारिकता पुष्टि नभएको पाइएको छ । उनले भने “कतिपय प्रदेश तथा स्थानीय तहका पदाधिकारी र कर्मचारीले विदेश भ्रमण मनोनयनको निर्देशिका विपरीत विदेश भ्रमण गर्ने गरेको पाइएपछि आगामी दिनमा कानुनविपरीत विदेश भ्रमण नगर्न प्रदेश र स्थानीय तहलाई परिपत्र गरिएको छ ।”
आगामी दिनमा वैदेशिक भ्रमण गर्नुपूर्व प्रदेश तथा स्थानीय तहले विदेशी सरकार, नियोग, प्रतिनिधि र अन्तर्राष्ट्रिय सङ्घ संस्थासँग अवलम्बन गर्नुपर्ने कार्यविधि र सम्बन्धित निर्देशिका बमोजिम परराष्ट्र मन्त्रालयको सहमति लिएपछि मात्र मनोनयन गर्ने व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्थानीय तह र प्रदेश सरकारलाई आग्रह गरेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS