काठमाडौं । आज आइतबार बसेको राष्ट्रियसभा बैठकले दुई वटा महत्वपूर्ण विधेयक स्वीकृत गरेको छ । बैठकले ‘लोकसेवा आयोग विधेयक, २०७५’ र ‘विद्युत् विधेयक २०७७’ लाई सर्वसम्मतिले स्वीकृत गरेको हो ।
बैठकमा लोकसेवा विधेयक प्रस्ताव कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गरेका थिए भने विद्युत् विधेयक उर्जामन्त्री पम्फा भुसालले प्रस्तुत गरेकी थिइन् । दुवै प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७’ पेश भएको छ । बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेयक पेश गरेका हुन् ।
राष्ट्रियसभाको आजको बैठकमा नेपाल सरकारको ‘आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन’ पेश भएको छ । बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘नेपालको संविधानको धारा ५३ बमोजिम तयार गरिएको आर्थिक वर्ष २०७६/०७७ को नेपाल सरकारको वार्षिक प्रतिवेदन’ पेश गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक यही साउन २६ गते मङ्गलबार बिहान ११ बजे बस्नेछ ।
FACEBOOK COMMENTS