काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा पाँच दिनदेखि ‘नाडा अटो शो, २०२४’ आयोजना भइरहेको छ ।
भोलि आइतबारसम्म चल्ने प्रदर्शनीलाई आयोजक नाडा अटोमोबाइल इसोसिएशन अफ नेपालले नेपालकै सबैभन्दा ठूलो प्रदर्शनी भनेको छ । उक्त प्रदर्शनीमा दर्जनौँ ब्राण्डका सयौँ दुईपांग्रे र चारपांग्रे सवारी साधनबारे जानकारी दिने, बुकिङ लिने र खरिदबिक्री समेत भइरहेको छ ।
पछिल्लो समय इलेक्ट्रिक भेहिकलको दबदबा बढेसँगै यो वर्षको नाडा अटो शो पनि ईभीमय बनेको छ । तर, इलेक्ट्रिक भेहिकलको परीक्षण र मापदण्ड तय हुन नसक्दा राम्रा–नराम्रा सबै प्रकारका ब्राण्डहरू सहजै नेपाल भित्रिरहेका छन् । यसले नेपाललाई कमसल उत्पादनको डम्पिङ साइट पो बनाउँछ कि भन्ने आम चासो र चिन्ता बढ्दै गइरहेको छ । साथै, ईभीमा प्रयोग गरिएको ब्याट्री डिस्पोजको कुनै व्यवस्था नभएका कारण वातावरणीय दृष्टिकोणबाट पनि ईभीबारे अनेक प्रश्न उठिरहेको छ ।
दिनप्रतिदिन सवारी साधनको संख्या तीव्ररूपमा वृद्धि हुँदै जाँदा देशमा सडकको अभाव र ट्राफिक जामको समस्या झेल्नपर्ने अवस्थाले पनि नेपालीहरूलाई पिरोलिरहेको छ । के साँच्चै नेपालमा सडकको अभावकै कारण अहिलेका समस्याहरू सृजना भएका हुन् त ? संसारको सबैभन्दा ठूलो र एकमात्र मोटरिस्ट अर्गनाइजेशन इन्टरनेशनल अटोमोबाइल फेडेरेसन (एफआईए) का वर्ल्ड काउन्सिल मेम्बर तथा नेपाल अटोमोबाइल्स एसोसिएशन (नासा) का कार्यकारी निर्देशक गोबिन्द भट्टराई सडक कम भएकै कारण समस्या सृजना भएको कुरा ठाडै अस्वीर गरेका छन् ।
‘हाल नेपालमा एक लाख किलोमिटर सडक छ । यो सडकले चार करोड सवारी साधन धान्छन्, अहिले करिब ५४ लाख सवारी मात्रै नेपालमा गुडिरहेका छन्,’ भट्टराईले भने, ‘एक लाख किलोमिटरमा ८० हजार किलोमिटरजति सडक ध्वस्त छ, कालोपत्र छैन, ग्राभेल छैन, धुलो र हिलोले छोपेको छ । मर्मत, पार्किङ, बसपार्क लेन बनाएर व्यवस्थित गर्न जरुरी छ ।’ एकापट्टी नेपालमा सडकै सडक छन् त्यहाँ गाडी गुडेको पाइँदैन । जुन सडकमा गाडी गुडेका छन् ट्राफिक जामको अर्को हैरानी व्यहोर्न परिरहेको उनको भनाइ छ । नेपालको सडकको क्षमता अनुसार चार करोड सवारी साधन धान्न सक्ने भएकाले सवारी साधन नै धेरै भयो भनेर वहस गर्नुको औचित्य नभएको पनि उनले बताएका छन् ।
यस्तै, उनले नेपालको सार्वजनिक यातायातलाई वैज्ञानिक ढंगबाट व्यवस्थापन गर्न सक्दा सम्पूर्ण समस्या हल हुने पनि बताएका छन् । शक्तिशाली सार्वजनिक यातायात प्राधिकरण (पब्लिक ट्रान्सपोर्ट अथोरिटी) बनाएर निजी क्षेत्रले सञ्चालन गरेका सबै यातायातहरू त्यो प्राधिकरणको एउटै डालोमा हालेर चलाउने र हिस्सेदारी अनुसार मुनाफा वितरण गर्ने हो भने नेपालको सडक र सवारीलाई व्यवस्थित र घुइँचोरहित हुने उनको धारणा छ ।
सरकारले लगानी नगरेकै कारण नेपालको सार्वजनिक यातायात ध्वस्त भएको उनको बुझाइ छ । निजी क्षेत्रलाई मात्र गाली गरेर नहुने भन्दै उनले अटोल्याण्ड नबनेसम्म नेपालको सडक सुरक्षित र प्रभावकारी नहुने बताए । यस्तै, भेहिकल टेष्ट सर्टिफिकेसन वितरणमा पनि उनले जोड दिएका छन् । सरकारी निकाय र नेतृत्वहरूले उद्घाटन र शिलान्यास गरेर, मिडिया, प्रहरी, व्यवसायी, ड्राइभरलाई थर्काउँदै भाषण गरेर हिँडेर मात्र सार्वजनिक यातायात व्यवस्थित हुन नसक्ने उनको भनाइ छ ।
अहिले नेपालको सार्वजनिक यातायात ‘ब्रेकबाहेक सबै लाग्ने र हर्नबाहेक जम्मै बज्ने’ खालको रहेको उनले औंल्याए ।
७८ हजार किलोमिटर सडक भएको डेनमार्कमा चार करोड भन्दा बढी सवारी साधन गुड्छन्, जहाँ टू–ह्वीलरको सङ्ख्या नगन्य छ । एक लाख किलोमिटर भन्दा बढी सडक सञ्जाल भएको नेपालमा ५४ लाख सवारी साधन गुड्छन्, जहाँ मोटरसाइकलको सङ्ख्या ४२ लाख भन्दा बढी भएको दृष्टान्त पनि उनले सुनाए ।
विस्तृत कुराकानी भिडिओमा हेर्नुहोस्–
FACEBOOK COMMENTS