काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगलाई द्रुत कार्यान्वयनमा ल्याउन जुटेको छ ।
गत पुस २९ गते सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१ राजपत्रमा प्रकाशित भएपछि मन्त्री दामोदर भण्डारीले द्रुत कार्यान्वयनका लागि तीव्रता दिएका हुन् ।
मन्त्रालयमा उनले निजी क्षेत्रसँग सो सम्बन्धमा छलफल गरे । छलफलमा निजी क्षेत्रका प्रतिनिधिले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगलाई अनिवार्य गर्न मन्त्रालयबाट भएको पहलकदमीको स्वागत गरेका छन् ।
मन्त्री भण्डारीले निजी क्षेत्रका प्रतिनिधिसँग यसअघि पनि स्वदेशी प्रयोगसम्बन्धी निर्देशिका माथि सुझाव लिए । उनले स्वदेशी वस्तु प्रयोगसम्बन्धी गठित निर्देशिका समितिको बैठकपश्चात् छिट्टै कार्यान्वयनको चरणमा लगिने बताए ।
स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिकाको पूर्ण कार्यान्वयनका लागि निजी क्षेत्रको दबाब आवश्यक रहेको मन्त्री भण्डारीको भनाइ थियो । उनले स्वदेशी वस्तुको प्रयोगले गुणस्तरीय वस्तु उत्पादन हुनुका साथै नेपाली उत्पादकको व्यवसाय पनि फस्टाउने र अर्थतन्त्र चलायमान हुने विश्वास व्यक्त गरे ।
स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका राजपत्रमा प्रकाशित भएपछि उद्योग मन्त्रालयले देशभरका सार्वजनिक निकायमा परिपत्र गरिसकेको मन्त्रालयका सहसचिव बस्नेतले जानकारी दिए ।
FACEBOOK COMMENTS