काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जेनजी आन्दोलनमा भएको हत्या र दमनको जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनुपर्ने बताएका छन् ।
ओलीको अहंकार र अधिनायकवादी चरित्रका कारण घटना भएकोले त्यसको सम्पूर्ण जिम्मेवारी उनैको हुने पुनले बताए । ओलीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने उनको माग छ ।
‘जेनजी पुस्ताको आन्दोलनमा भएको बलप्रयोग र हत्याको जिम्मेवारी प्रधानमन्त्री केपी ओली र उनको नेतृत्वमा रहेको नालायक सरकारले लिनुपर्छ, पुनले भने, ‘यो परिस्थितिले उत्पन्न हुनुमा ओलीको अभिनायकवादी, निरंकुश र स्वइच्छाचारी प्रवृत्ति जिम्मेवार छ । घटनाले ओलीको असली चरित्र उदांगो पारेको छ । पदमा बस्ने नैतिकता गुमाएकाले उनले तत्काल राजीनामा दिनुपर्छ ।’
पुनले जेनजी पुस्ताले उठाएका जायज मागको समर्थन गर्दै सामाजिक सञ्जालमाथिको प्रतिबन्ध आजै हटाउन पनि सरकारसँग माग गरे । अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने गरी सामाजि सञ्जालमा लगाइको बन्देज अस्वीकार्य भएको उनको भनाइ छ ।
शन्तिपूर्ण प्रर्दशन जनताको संवैधानिक अधिकार भएको उल्लेख गर्दै पुनले प्रदर्शनकारी युवामाथि भएको अत्याधिक बल प्रयोग तथा दमनको स्वतन्त्र र न्यायिक छानबिनको माग गरे । पुनले आन्दोलनरत जेनजीलाई सार्वजनिक वा व्यक्तिका सम्पत्तिमाथि तोडफोड र आगजनी नगर्न अपिल पनि गरे । जेनजी मुलुकको भविष्य भएकाले उनीहरुब समाजले संयमता र अनुशासनको अपेक्षा गरेको पुनले बताए ।
जेनजी आन्दोलनलाई दुरुपयोग गर्न अदृश्य तत्वले चलखेल गर्न सक्नेतर्फ सचेत रहन पनि पुनले अपिल गरे । पुनले मृतकप्रति श्रद्धान्जली प्रकट गर्दै आन्दोलनमा घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामनासहित निस्शुल्क उपचारको प्रबन्ध मिलाउन सरकारसँग माग गरे ।
FACEBOOK COMMENTS