काठमाडौँ । सांसद महावीर पुनले राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुख पदमा गरिएको नियुक्ति गलत भएको बताएका छन् । उनले प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई सो पदमा गरिएको नियुक्ति शतप्रतिशत गलत भएको टिप्पणी गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पुनले उक्त पद नलिन आग्रह पनि गरेका छन् । उनले प्रधानमन्त्रीको सम्मान जोगाउनका लागि यस्तो सानो लोभ त्याग्न आग्रह गर्दै यसले कमाएको ऐतिहासिक प्रतिष्ठा धुलोमा नमिसियोस् भनेका छन् ।
उनले भनेका छन्- ‘प्रधानमन्त्रीज्यूले राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुखको पदमा आफ्नै स्वकिय सचिव आदर्श कुमार श्रेष्ठलाई गरेको नियुक्ती १०० प्रतिशत गलत हो । आर्दश भाई, प्रधानमन्त्रीज्यूको इज्जत धुलोमा नमिसियोस् भन्नाको खातीर त्यो पद नलिउ ।’
उनले नातावाद, चाकरी, कृपा र चापलुसीका कारण पुराना राजनीतिक दलहरू कमजोर भएको उल्लेख गर्दै यही प्रवृत्ति दोहोरिए नयाँ दलहरू पनि भविष्यमा कमजोर हुने चेतावनी दिएका छन् ।
पुनले आफूले सचेत गराउने काम गरेको उल्लेख गर्दै आगामी सरकारले यस्ता नियुक्ति गर्दा विवेक प्रयोग गर्नुपर्ने बताएका छन् ।


FACEBOOK COMMENTS