काठमाडाैं । टाटा ईभी नाडा अटो शो-२०२४ मा बिक्री सुरू गरिएको टाटा पन्च ईभीको नेपालमा उत्साहजनक सुरूआत भएको छ । बिक्री सुरू गरेको पहिलो दिनमै नेपालभरि १००+ बुकिङ भएको कम्पनीले जनाएको छ ।
कम्पनीले केही दिनअघिबाट टाटा पन्च ईभीको प्रिबुकिङ सुरू गरिसकेको थियो । टाटा पन्च ईभी सुरूआती मूल्य ३३ लाख ९९ हजार रूपैयाँमा सार्वजनिक गरिएको हो । यो मूल्य नाडासम्मलाई मात्र रहेको र पछि बढ्ने कम्पनीले जनाएको छ । साथै नाडामा गाडी किन्ने ग्राहकहरूलाई सिप्रदीको चार्जिङ स्टेशनमा निःशुल्क चार्जिङको पनि घोषणा गरेको छ ।
सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापति भन्छन्, ‘टाटा पन्च ईभीलाई लिएर नेपालमा जुन प्रकारको उत्साह थियो, त्यो बुकिङमा पनि देखिएको छ । विगतमा पनि टाटा मोटर्सले सधैं नेपाली जनताको चाहअनुसारको गाडीहरू ल्याउन सफल भएको छ र यो पन्च ईभीको सकारात्मक सुरूआत देखेर यसमा सफल भएको महसुस गरेका छौं । गत वर्ष नाडाबाटै बिक्री सुरू गरिएको टियागो ईभी नेपालको सर्वाधिक बिक्री हुने ईभी ह्याचब्याक बन्न सफल भएको थियो र पन्च ईभीले पनि नेपालमा राम्रो बजार लिनेमा हामी विश्वस्त छौं ।’
यसका साथै टाटा ईभी नाडा अटो शो-२०२४ टियागो ईभीको हरेक बुकिङमा ग्राहकहरूले जोडीका लागि थाइल्याण्ड यात्रा पाउनुका साथै ग्राहकहरूले १ वर्षको सवारी कर र एक्सेसरिज प्राप्त गर्नेछन् ।
FACEBOOK COMMENTS