काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले यही २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको रुख चिह्नमा मतदान गर्न अपिल गरेका छन् । आइतबार सामाजिक सञ्जालमा लेख्दै खड्काले उम्मेदवारको नाम नलिई पार्टीको चुनाव चिह्नमा मतदान गर्न अपिल गरेका हुन् ।
‘यो निर्वाचनमा म उम्मेदवार किन उठ्दै छैन, त्यसको कारण मैले माघ ६ गतेको दिन बिहान मेरो सामाजिक सञ्जालमार्फत सम्बन्धित सबैमा प्रस्ट पारिसकेको छु । आज म विशेष दिनमा हाम्रा परमआदर्णिय मतदातारुपि भगवानहरूसँग गर्दै छु,’ खड्काले भनेका छन्, ‘फागुन २१ गते बिहान ७ बजेदेखि सुरु हुने मतदानमा कर्णाली प्रदेशलगायत सातै प्रदेशका देशभरिका सबै मतदान केन्द्रमा जानुभई प्रनिधिसभाको प्रत्यक्ष र समानुपातिक तर्फका दुवै मत पत्रमा हाम्रो पार्टी नेपाली कांग्रेसको ऐतिहासिक चुनाव चिह्न रुखमा आफ्नो बहुमुल्य मतको स्वस्तिक छापको लालमोहर लगाई भारी बहुमतका साथ विजयी गराइदिुनुहुन हृदयदेखि नै हार्दिक विनम्र अनुरोध गर्छु ।’
उनले कांग्रेसका उम्मेदवारलाई मत दिनु नभनी ‘प्रत्यक्ष र समानुपातिक दुवै मत पत्रमा रुख चुनाव चिह्नमा मतदान’ भनेका छन् ।
विशेष महाधिवेशनबाट नयाँ नेतृत्वलाई निर्वाचन आयोगले मान्यता दिएपछि तत्कालीन कार्यवाहक सभापति खड्का त्यसविरुद्ध सर्वोच्च अदालत पुगेका थिए । अदालतमा मुद्दा दायर गरेकोले आफू उम्मेदवार नबनेको उनको मत रहँदै आएको छ ।
FACEBOOK COMMENTS