काठमाडौं । विश्वका ८ हजार मिटरभन्दा माथिका १४ वटा हिमालहरू आरोहण गर्ने योजनामा रहेकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठ अहिले विश्वकै दोस्रो अग्लो के–टुको आरोहणको तयारीमा छिन् ।
उनले नेपालमा रहेका ८ हजार मिटर उचाइका ७ वटा हिमाल आरोहण गरिसकेकी छन् । उनी ८ हजार ६११ मिटर उचाइको के–टुको आरोहणका लागि बुधबार पाकिस्तान जान लागेकी हुन् ।
इस्लामाबाद हुँदै विश्वको दोस्रो सर्वोच्च हिमाल के–टु चढ्ने उनले कर्र्पोरेट खबरलाई बताइन् । के–टु आरोहणका लागि जोखिमयुक्त हिमाल भएकैले किलर माउन्टेनकोसमेत उपमा दिइएको छ ।
के–टुपछि ब्रो पिक आरोहण गर्ने योजना रहेको उनले सुनाइन् । यससँगै उनले जि–१ र जि–२ पनि आरोहण गर्ने योजना बनाएको बताइन् ।
यद्यपि, के–टु र ब्रो पिकबाहेक अरू हिमाल आरोहणको अनुमतिको प्रक्रिया भने बाँकी नै रहेको उनको भनाइ छ । के–टुमा हालसम्म तीन नेपाली महिलाहरूले आरोहण गरिसकेका छन् । अब चौथो आरोहण गर्र्नेमा उनी पर्ने छिन् ।
पुर्णीमाले पहिलो पटक ८ हजार मिटरको हिमाल यात्रामा आफ्नै गोरखामा रहेको मनास्लुबाट सुरू गरेकी थिइन् । उनले २०७४ मा मनास्लुको सफल आरोहण गरेकी थिइन् भने २०७५ मा नै उनले सगरमाथाको आरोहण गरेकी थिइन् । त्यसपछि उनले अन्नपूर्ण र धौलागिरि चढिन्। र अन्नपूर्ण र धौलागिरि चढ्ने उनी पहिलो नेपाली महिला समेत बन्न पुृगिन् ।
पछिल्लोपटक भने उनले कञ्चनजंघा, लोत्से र मकालुको आरोहण गरिन् । योसँगै उनले नेपालको ८ हजार मिटर अग्ला हिमाल चढ्ने पहिलो नेपाली महिलाको कीर्तिमान कायम समेत गरी सकेकी छिन् ।
विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमालमध्ये नेपालमा ८ वटा छ । ती ८ मध्ये चोयु भने तिब्बततर्फबाट चढ्नुपर्छ। भौगोलिक जटिलता र विविध कारणले नेपालबाट चोयु आरोहणको अनुमति खुलाइएको छैन। अब पूर्णिमाले यही एउटा चोयुको आरोहण गर्न बाँकी छ ।
FACEBOOK COMMENTS