काठमाडौं । कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको दृष्टिकोण र नेपालको समृद्धि विषयमा वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ ।
कम्युनष्टि पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म शताब्धी तथा ४६औँ स्मृति दिवसका अवसरमा हिजो शनिबार नेकपा एमाले वागमती प्रदेश सम्पर्क कमिटीले काठमाडौंमा प्रदेशस्तरीय प्रतियोगिता आयोजना गरेको हो ।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यता र नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटीका अध्यक्ष अशोक कुमार ठकुरीको अध्यक्षतामा आयोजना गरिएको प्रतियोगितामा पुरुषतर्फ दोलखाका सुदर्शन दाहाल र महिलातर्फ काभ्रेपलाञ्चोककी तारा तामाङले प्रथम स्थान हासिल गरेका छन् ।
यस्तै, पुरुषतर्फ नुवाकोटका रामनाथ खनाल र महिलातर्फ रामेछापकी जेनिशा बस्नेतले दोस्रो स्थान हासिल गरे भने पुरुषतर्फ सिन्धुलीका लोचन पहाडी र महिलातर्फ सिन्धुलीकै मिनाश्री पहाडीले तेस्रो स्थान हासिल गरेका छन् ।
प्रतियोगितामा प्रथम स्थान हासिल गरेका विजेताले १०/१० हजार रूपैयाँ, दोस्रो स्थान हासिल गरेका विजेताले ७/७ हजार रूपैयाँ र तेस्रो स्थान हासिल गरेका विजेताले ५/५ हजार रूपैयाँ नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा बागमती प्रदेश सम्पर्क कमिटी मातहतमा रहेका १० वटा जिल्ला सम्पर्क मञ्चहरूमध्ये चितवनबाहेक सबैले सहभागिता जनाएका थिए । सहभागी जिल्ला सम्पर्क मञ्चहरूबाट एक/एक जना पुरुष र महिलासहित १८ जनाले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा सहभागिता जनाउने अन्य प्रतिस्पर्धीहरू आधारराज अधिकारी (मकवानपुर), मनिषा पुलामी (रसुवा), कृष्ण नेपाली (सिन्धुपाल्चोक), आयुष बडाल (काभ्रेपलाञ्चोक), मनिता श्रेष्ठ (नुवाकोट), बबिता कटवाल (मकवानपुर), सोनिया खड्का (दोलखा), परमेश्वर जगमेर (मकवानपुर), श्रृजु बस्नेत (दोलखा), सुभद्रा थापा (धादिङ), क्षितिज पौडेल र आर्यन न्यौपाने थिए ।
प्रतियोगीहरूले विषयवस्तुमा केन्द्रित रहँदै नेपालमा कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जीवनी, वर्गीय विभेदप्रति उनको धारणा र सोचाई तथा नेपालको समृद्धिका आधारहरूमा केन्द्रित रहेर आफ्नो प्रस्तुति दिएका थिए । प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका उपप्राध्यापक डा. सिद्धिबहादुर महर्जन, महेन्द्ररत्न क्याम्पस (ताहाचलका) का उपप्राध्यापकद्वय डा. गणेश राज अधिकारी र डा. शिव कुमार गौतमले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
FACEBOOK COMMENTS