काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि आफ्नो कडा असन्तुष्टि व्यक्त गरेका छन्।
मिडियासँग कुरा गर्दै ट्रम्पले पुटिनमाथि कटाक्ष गर्दै भने, “पुटिन दिनमा मीठो बोल्छन्, रातमा बम विस्फोट गर्छन्।”
राष्ट्रपति ट्रम्पले अमेरिकाले युक्रेनलाई उन्नत स्तरको प्याट्रियट वायु रक्षा प्रणाली दिने घोषणा गरेका छन्। अमेरिकाले नेटोमार्फत युक्रेनलाई हतियार आपूर्ति गर्ने तयारी गरेको उनले बताए। ट्रम्पका अनुसार अमेरिकाले नेटो महासचिवसँग छलफल गरी युक्रेनलाई अत्याधुनिक हतियार उपलब्ध गराउने छ भने त्यसको पूर्ण भुक्तानी नेटोले गर्नेछ।
“म नेटो महासचिवलाई भेट्दै छु। हामी उनीहरूलाई उन्नत हतियार दिनेछौं र उनीहरूले हामीलाई यसको लागि १०० प्रतिशत भुक्तानी गर्नेछन्,” ट्रम्पले पत्रकारहरूसँग भने।
गत हप्ता राष्ट्रपति ट्रम्पले रुसका बारेमा ठूलो घोषणा गर्ने बताएका थिए। उनले भने, “भोलि के हुन्छ, भोलि हेर्नेछौं।”
यसपटक अमेरिकाले युक्रेनलाई करिब ३० करोड अमेरिकी डलर बराबरको हतियार सहायता उपलब्ध गराउने छ। यसमा प्याट्रियट मिसाइल प्रणालीसँगै मध्यम दूरीका रकेटहरू पनि समावेश हुने बताइएको छ।
राष्ट्रपति ट्रम्पले राष्ट्रपति ड्रडाउन प्राधिकरण अन्तर्गत युक्रेनलाई सिधै अमेरिकी भण्डारबाट हतियार पठाउन अनुमति दिएका छन्। यस कानुनी अधिकार अन्तर्गत आपत्कालीन अवस्थामा राष्ट्रपतिले भण्डारमा रहेका हतियार सिधै सहयोगी मुलुकलाई उपलब्ध गराउन सक्ने व्यवस्था छ।
यसअघि ट्रम्प सरकारले पूर्व राष्ट्रपति जो बाइडेनले अनुमोदन गरेका हतियार मात्रै युक्रेनलाई उपलब्ध गराउँदै आएको थियो। तर नयाँ सम्झौताअनुसार अब अमेरिकाले हतियार नेटोमार्फत युक्रेनमा पठाउने छ। ट्रम्पले स्पष्ट पारे, “हामी नेटोलाई हतियार दिनेछौं र नेटोले त्यसको पूर्ण भुक्तानी गर्नेछ। त्यसपछि नेटोले ती हतियार युक्रेनलाई उपलब्ध गराउनेछ।”
अमेरिकाको यो कदमसँगै युक्रेनको सुरक्षा थप सुदृढ हुने अपेक्षा गरिएको छ।
FACEBOOK COMMENTS