काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली देशहरूलाई कडा चेतावनी दिएका छन् ।
उनले युरोपले रुस विरुद्ध युद्ध सुरु गरेमा रुसले जवाफ दिन तयार रहेको बताएका हुन् । पुटिनले रुस युरोपसँग युद्ध नचाहेको तर युरोपले युद्ध शुरु गरेमा वार्ता गर्न कोही पनि बाँकी नरहने चेतावनी दिएका हुन् ।
पुटिनले रुस युक्रेनमा पूर्ण स्तरको युद्ध नलडेको दाबि गरेका छन् । उनले सर्जिकल अपरेशन जस्ता सीमित अपरेशनहरू गरिरहेको र युरोपसँग प्रत्यक्ष युद्ध भयो भने, अवस्था फरक हुनेछ र रुसले पूर्ण शक्तिका साथ प्रतिक्रिया दिने बताए । युक्रेन युद्ध सुरु भएको चार वर्ष बितिसकेको छ ।
यो दोस्रो विश्वयुद्ध पछि युरोपमा सबैभन्दा ठूलो द्वन्द्व हो । रूसले अझै छिमेकी युक्रेनलाई पूर्ण रूपमा कब्जा गरेको छैन । युक्रेनले युरोपेली देशहरू र संयुक्त राज्य अमेरिकाबाट बलियो समर्थन प्राप्त गरिरहेको छ । युरोपेली देशहरू र युक्रेनले यदि पुटिनले युक्रेन युद्ध जिते भने, तिनीहरूले कुनै पनि नेटो देशमा आक्रमण गर्न सक्ने बताउदै आएका छन् ।
यद्यपि, पुटिनले बारम्बार यो दाबीलाई अस्वीकार गर्दै आएका छन् । पुटिनले युरोपेली देशहरूले आफैंले रुससँग वार्ताको ढोका बन्द गरेको बताउदै उनीहरु युद्धको पक्षमा रहेको बताएका छन् । जर्मन विदेशमन्त्री जोहान वाडेफुलले नोभेम्बर २५ मा रूसले आगामी चार वर्ष भित्र नेटो देशमा आक्रमण गर्न सक्ने बताएका थिए ।

वाडेफुलले जर्मन गुप्तचर एजेन्सीहरूका अनुसार, रूसले २०२९ सम्ममा नेटो विरुद्ध युद्धको तयारी गरिरहेको बताए । उनले रूसको महत्वाकांक्षा युक्रेनमा मात्र सीमित नभएको र रूसले हालैका वर्षहरूमा आफ्नो सैन्य शक्ति र हतियार उत्पादनमा उल्लेखनीय वृद्धि गरेको दाबि गरेका छन् । उनले रूसले आफ्नो अर्थतन्त्र र समाजलाई युद्धमा धेरै हदसम्म अनुकूलित गरेको र रूसले आवश्यकताभन्दा बढी सैनिकहरू भर्ती गरिरहेको बताएका छन् ।

FACEBOOK COMMENTS