काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज औपचारिक भेटवार्ता हुँदैछ ।
भेटपछि विभिन्न ६ वटा विषयमा द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर हुनेछ । आज शिक्षा र संस्कृति आदान प्रदानसँग सम्बन्धित विषयमा हस्ताक्षर हुनेछ ।
नेपाल र कतारको सरकारी समाचार एजेन्सी, महान्याधिवक्ताको कार्यालय र इन्स्टिच्युट अफ फरेन अफेयर्ससँग सम्बन्धित विषयमा तालिम र सहयोग आदान प्रदान सम्बन्धी हस्ताक्षर हुनेछ । यस्तै अन्य विभिन्न सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।
अहिले नेपालले कतारी राजालाई हात्ती उपहार दिन लागेको विषय निकै चर्चामा रहेकोे छ । तथापी यो विषयमा सम्झौता नुहेन र प्रधानमन्त्रीले हात्ति दिने भनेर घोषणा मात्रै गर्ने कार्यक्रम रहेको छ ।
अन्तर्राष्ट्रिय कानुनको प्रक्रिया पूरा गर्न बाँकी भएकाले हात्ती उपहार दिने विषयमा सम्झौता नहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बिहान १० बजेपछि होटल सोल्टीमा उक्त सम्झौता हुनेछ । त्यसपछि प्रधानमन्त्री प्रचण्डले होटल द्वारिकामा दिवा भोजको कार्यक्रम आयोजना गर्नेछन् । कतारी टोली आज दिउँसो कतार फर्किने छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि कतारका राजा भ्रमण दलका सदस्यहरुसहित मंगलबार काठमाडौं आएका थिए ।
FACEBOOK COMMENTS