काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुनसुकै गठबन्धनको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने भएको छ । यद्यपि यसको औपचारिक निर्णय भने सो पार्टीको संसदीय दलको बैठकले गर्नेछ ।
आज दिउँसो १ बजे बसुन्धरामा सो पार्टीको संसदीय दलको बैठक बस्दैछ । रास्वपाका एक नेताका अनुसार जसको नेतृत्वमा सरकार बने पनि रास्वपा त्यसमा सहभागी हुनेछ ।
पार्टी अध्यक्ष रवि लामिछाने सरकारमा सहभागी हुने पक्षमा छन् । सोही विषयमा औपचारिक निर्णय गर्न बैठक बस्न लागेको हो ।
प्रतिनिधिसभामा २० सिट रहेको सो पार्टीलाई सरकारमा सहभागी गराउँदा सत्ता गठबन्धनको स्पष्ट बहुमत नपुगेको अवस्थामा सरकार र संसद्को स्थायित्वमा सहयोग पुग्ने मत नेपाली कांग्रेसभित्र देखिएको छ ।
अहिले सत्ता गठबन्धनमा सरकारको पहिलो नेतृत्व कसले गर्ने भन्नेबारे नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच छलफल भइरहेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको पहिलो नेतृत्व आफूले गर्नुपर्ने अडान राख्दै आएका छन् भने नेपाली कांग्रेसले पहिलो चरणमा प्रधानमन्त्री र राष्ट्रपति दुवै पद कांग्रेसले पाउनुपर्ने दावी गरेको छ ।
FACEBOOK COMMENTS