काठमाडौँ । गृहमन्त्री रवी लामिछानेले आफ्ना सांसदहरुका कारण कुनै पनि झन्झट नआउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
आजको संसदको पहिलो बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले आफूहरुले स्याबासीसँगै निराशा पनि पाएको बताउँदै आफ्नो तर्फबाट कुनै कमजोरी भएको खण्डमा पद त्याग गर्ने प्रतिवद्धता जनाएका हुन् । उनले जनताको विश्वासको दियोलाई निभ्न नदिने उनले बताए ।
यसपटक जनताले दिएको मतको सम्मान गर्दै अहिलेको सरकार बनेको उनले बताए । जनजीवनको सवालमा भएको न्यूनतम साझा कार्यक्रमबाट जनताहरु लाभान्वित हुन सक्ने उनले बताए । प्रतिपक्ष दलले दिएको रचनात्मक सुझावका आधारमा सरकारले काम गर्दै जाने उनको जिकिर छ । प्रतिपक्षबाट आफूहरुले सहयोग पाउने उनको विश्वास छ ।
यसअघि देशमा भएका वेथितिका विषयमा जनताले जवाफ खोजेको उनको भनाइ छ । वर्षौंदेखि जनताहरु निराश भएको अवस्थामा भ्रष्टाचारको नियन्त्रणमा सरकारले काम गर्ने उनले बताए । कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारका विरुद्ध सरकार काम गर्ने उनले प्रतिवद्धता जनाए । आफूले काम गरेको मन्त्रालयमा केही काम सुरु गरिसकेको उनले स्मरण गराए ।
नेताहरु आफ्नै समस्यामा अल्झन नहुने उनले बताए । कुनै पनि अपराधिक गतिविधिको छानवीन, भ्रष्टाचारको छानवीन लगायतका छानवीनमा सम्बद्ध दलका नेताहरुबाट रोकावट नगर्न समेत उनले निर्देशन दिए ।
FACEBOOK COMMENTS