काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि इजरायलका राजदूत हनान गोदरले शिष्टाचार भेट गरेका छन् ।
मन्त्रालयमा बुधबार भएको भेटवार्तामा उनीहरूबीच पाली विद्यार्थीका लागि छात्रवृत्ति र चासोका विविध विषयमा विचारविमर्श भएको हो ।
सो अवसरमा राजदूत हनान गोडरले गृहमन्त्री नियुक्त हुनु भएकोमा लामिछानेलाई बधाई ज्ञापन गरे ।
उनीहरुबीच नेपाली नागरिकको इजरायलमा हालको अवस्था, नेपाली विद्यार्थीका लागि छात्रवृत्ति, साथै विपिन जोशीको सुरक्षित नेपाल फर्काई लगायतका विविध विषयमा छलफल भएको थियो ।
राजदूतले विविन जोशीको अवस्थाबारे इजरायल सरकार पनि चिन्तित रहेको भन्दै उनको सहित ज्यान गुमाउने १० जना नेपालीको परिवारलाई इजरायल सरकारले राहत स्वरुप भत्ता उपलब्ध गराउन थालेको जानकारी दिए ।
गृहमन्त्रीले इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्वको शान्तिपूर्ण समाधान होस् भन्ने कामना गरे । राजदूतले त्यहाँको अवस्थाको मूल्यांकनका आधारमा परिवारको पुनर्मिलन र भ्रमणका लागि सहजीकरण गरिने विषयमा छलफल गरी ठोस कदम चालिने कुरा व्यक्त गरे ।
उनीहरुबीच कृषि, सूचना प्रविधि, रोजगारी सिर्जनालगायत क्षेत्रमा सहकार्य र नेपाल–इजरायलको सम्बन्ध विस्तार र सुदृढका लागि थप सहकार्यबारे पनि छलफल भएको थियो ।
FACEBOOK COMMENTS