काठमाडौं । सहकारीको रकम ठगी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको मुद्दामा आज बिहीबार सुनुवाइ हुँदै छ ।
बुटवलस्थित सुप्रिम सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको अभियोगमा दुवै जना थुनामा छन् । लामिछाने र जोशी दुवैले आफूहरूको हिस्सामा परेको बिगो बराबर रकम बुझाएर रिहा हुनुपर्ने मागसहित अदालतमा निवेदन दिएका थिए । सुप्रिम सहकारी ठगी प्रकरणमा रविसहितका प्रतिवादीमाथि १० करोड ९९ लाख ३६ हजार रुपैयाँको सामूहिक बिगो कायम गर्दै अभियोगपत्र दायर गरिएको छ ।
लामिछानेले आफ्नो हिस्सामा परेको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतमार्फत बुझाउने प्रस्तावसहित रूपन्देही जिल्ला अदालतमा निवेदन दिएका थिए । तर, अदालतले साउन २६ गते भएको सुनुवाइमा उनको माग अस्वीकार गरेको थियो ।
जिल्ला अदालतको यो निर्णयविरुद्ध लामिछाने र जोशीले भदौ ९ गते उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा पुनरवलोकनका लागि निवेदन दर्ता गराएका थिए । गत बिहीबार उक्त निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले सर्वोच्च अदालतबाट सम्पूर्ण फाइल झिकाउन आदेश दिएको थियो ।
सर्वोच्च अदालतबाट फाइल प्राप्त भएपछि आज बिहीबारका लागि पेसी तोकिएको उच्च अदालत तुलसीपुर–बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार मुद्दा अदालतको ३ नम्बर इजलासमा राखिएको छ, जहाँ न्यायाधीश मिलनकुमार राई र सानुमैया डङ्गोलले सुनुवाइ गर्नेछन् ।

लामिछाने र जोशीको मुद्दा इजलासको पहिलो नम्बरमै परेकाले दुवै पक्षका कानुनी प्रतिनिधिहरू बहसका लागि तयारी अवस्थामा रहेका छन् ।

FACEBOOK COMMENTS