काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन साह र रवि लामिछानेबीचको एकताप्रति टिप्पणी गर्दै तीन वर्षमा नगरपालिका नै फेर्न नसक्ने पात्रले अब देश फेर्छ भन्ने भ्रम पनि सकिने बताएका छन् ।
सचिव बस्नेतले बालेनको लोकप्रियता उनको स्वतन्त्र छविसँग गाँसिएको र रवि जस्तो विवादित पात्रको नेतृत्व रहेको दलसँग जोडिनासाथ त्यो आकर्षण तिब्र गतिमा घट्ने दाबि गरेका छन् ।
उनले भनेका छन्–
रवि बालेनको एकता बारे ।
नेपाली राजनीतिमा नयाँ पात्रलाई सधैँ आशाको रूपमा बेचिन्छ । गगन आए, जवर्जस्त बासी बनाइए । काण्डै–काण्डका नाइके रवि आए, उनी पनि बासी भए । लोकप्रियताको आडमा बालेन आए—तीन वर्षमा नगरपालिका नै फेर्न नसक्ने पात्रले अब देश फेर्छ भन्ने भ्रम पनि सकिन थालेको छ । अनुहार फेरिँदैमा देश फेरिँदैन भन्ने तथ्य बारम्बार प्रमाणित भइसकेको छ ।

बालेनको लोकप्रियता उनको स्वतन्त्र छविसँग गाँसिएको थियो । रबि जस्तो बिबादित पात्रको नेतृत्व रहेको दलसँग जोडिनासाथ त्यो आकर्षण तिब्र गतिमा घट्ने देखिन्छ । “काम गर्ने कालू, मकै खाने भालु” जस्तै, रास्वपाको राजनीति पुराना दललाई सराप्ने र सत्ताको भर्याङ चढ्ने बाहेक स्पष्ट दिशा र भिजन आधारित नहुँदा जनता संगको दूरी झन् बढ्दै जाने र जनमत झन कमजोर हुँदै जाने निश्चितै छ ।

भाद्र २३ गतेको शान्तिपूर्ण प्रदर्शन योजनाबद्ध मुठभेडमा परिणत गराइयो र केही युवाले ज्यान गुमाए । त्यसको भोलिपल्ट भाद्र २४ गते राज्य र लोकतन्त्रका आधारस्तम्भमाथि आक्रमण गरियो । यी घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण हुन् । यसमा बालेन र रविको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका देखिनु, साथै माओवादी र राजावादी धाराहरूको समर्थन देखिनु गम्भीर विषय हो ।

अबको चुनावको मुख्य प्रश्न , सिंहदरबार, संसद भवन र सर्वोच्च अदालत जलाउने अराजकतालाई रोज्ने कि ती संरचना बनाउने र भत्काउनेमाथि कारबाही गर्ने राजनीति दललाई साथ दिने? जलाउने धारको नेतृत्व बालेन–रविहरुले गरेकै हुन, संरचना जोगाउने जिम्मेवारी पुराना दलहरूले नै वहन गर्नुपर्ने यथार्थ देखिएको छ ।

समस्या पुराना दलको अस्तित्व होइन, तिनको कतिपय विकृति हो । नयाँ दल खोल्नु समाधान होइन, पुराना दललाई परिमार्जन गर्दै राजनीति सुधार गर्नु हो । रवि र बालेन केन्द्रित व्यक्तिवादी स्वार्थको अभियान दीर्घकालीन सुधारको स्पष्ट खाकाबिना पार लाग्दैन ।

यस्तो गम्भीर घडीमा संविधान र लोकतन्त्रका पक्षधर शक्तिहरू एकजुट हुनैपर्छ । नत्र नयाँ बोत्तलमा पुरानै रक्सी पिइरहँदा हामी फेरि–फेरि उही भ्रमको सिकार भइरहनेछौँ ।
FACEBOOK COMMENTS