काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले संसदीय छानबिन समिति गठन गरिसकेपछि पनि नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास नेपाली राजनीतिमा गम्भीर विषय बनेको बताएका छन् ।
आज शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै राजनीतिमा नैतिकता व्यक्तिसँग निर्भर गर्ने कुरा भन्दै नैतिकताको बोध नगरिने राजनीति काँग्रेसले अन्त्य गरेर छोड्ने दाबी गरेका हुन् ।
उनले सहकारीका विषयमा छानबिन समिति बनिसकेपछि पनि उपप्रधान एवम् गृहमन्त्रीकै पदमा रहिरहनु ‘नाङ्गो भइसकेपछि पनि आफूलाई कपडा लगाएको ठान्नु’ रहेको टिप्पणी गरे । छानबिन समिति बनाउँदा पनि राजीनामा दिनुपर्दैन भनेपछि मात्रै रवि सहमत भएको र संसदीय छानबिन समिति बनेको जिकिर सांसद पौडेलको छ ।
उनले नेपाली काँग्रेसले संसदमा सहकारीको मुद्दा नउठाएको भए ७३ लाख जनता जोडिएको मुद्दालाई निर्णायक मोडमा पुर्याउन नसकिने स्थिति रहेको पनि बताएका छन् । ‘नेपाली काँग्रेस पार्टीले संसदमा सहकारीको मुद्दा त्यस ढंगबाट अगाडि ल्याउँदैन थियो भने यहाँ सहकारी पीडितहरूले न्याय पाउने अवस्था हुँदैन थियो । ७३ लाख जनता जोडिएको यो मुद्दालाई नेपाली काँग्रेसले एउटा निर्णायक मोडमा पुर्याएको छ,’ उनले भने ।
संसदमा नेपाली काँग्रेस पार्टीले यसलाई सशक्त ढंगबाट संसदमा भएका साना पार्टीहरू छोडेर कुनै पनि राष्ट्रिय पार्टीले यो सहकारीको मुद्दालाई नउठाएको र काँग्रेस पार्टीले यो मुद्दा उठाइसकेपछि बाध्य भएर कतिपय पार्टीहरू जोडिएको जिकिर उनको छ । सत्तालाई सम्पूर्ण रूपमा दुरूपयोग गरेर यो मुद्दा उठ्न नदिन, गुपचुप गर्न, ढाकछोप गर्न, प्रमाण लुकाउन सम्पूर्ण रूपमा अहिलेको सत्तारुढ गठबन्धन लागेको आरोप सांसद पौडेलको छ ।
उनले जनप्रतिनिधिको आवरणमा जनतालाई ठग्ने काम व्यापक रूपमा भइरहेको पनि बताएका छन् ।
FACEBOOK COMMENTS